२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पर्यटक लोभ्याउन घाँसे मैदान विस्तार

२०७९ चैत्र २४, शुक्रबार प्रकाशित ( साल अघि) ४८० पाठक संख्या

नारायण शर्मा

नवलपुर । वन्यजन्तुको आहारा बढाउन चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा घाँसे मैदान र पोखरीको क्षेत्र बढाइँदै छ । जंगलभित्र चरीचरण क्षेत्रको अभाव हुन नदिन निकुञ्जले घाँसे मैदान क्षेत्र बढाउन सुरु गरेको हो । वन्यजन्तुले कलिलो घाँस खान मन पराउने भएकाले मैदान बढाउदै लगिएको छ ।

निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा पुराना घाँसे मैदान व्यवस्थापन र नयाँ क्षेत्र बढाउदै लगिएको छ । वन्यजन्तुलाई पर्याप्त आहारा बढाउन मैदान र पानी पोखरी पनि निर्माण गरिएको छ ।

९ सय ५२ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जमा घाँसे मैदान र आहाल खेल्ने स्थान ९घोल० बढाउन निकुञ्जले काम थालेको हो । निकुञ्जको कुल क्षेत्रफलको १० प्रतिशत क्षेत्र घाँसे मैदान छ । पर्याप्त घाँसेमैदान वन्यजन्तुको चरीचरण क्षेत्र भएकाले तिनको संख्या बढाउन पनि मद्दत पुग्छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ५० हेक्टरमा हाल नयाँ घांसे मैदान बनाइएको हो । ५ वटा पोखरी पनि निर्माण गरिएको छ । आहाल र हिउँदमा पानीको पर्याप्तता बढाउन पोखरी बनाइएका हुन् । बुट्यान नभएको र सिमसार क्षेत्रमा वन्यजन्तुका लागि पानी खान र आहाल खेल्न पोखरी निर्माण गरिएको हो । पहिलो चरणमा यो वर्ष २५ लाखको लागतमा ५० हेक्टरमा थप घाँसेमैदान निर्माण भएको हो ।

पुरानो २ सय २५ हेक्टर क्षेत्रफल घाँसे मैदान व्यवस्थानमा निकुञ्जले करिब ३४ लाख खर्च गरेको छ । निकुञ्जभित्रको लक्ष्मी ताल क्षेत्र, तमोर ताल र भिम्ले क्षेत्रमा ताल निर्माण गरिएको हो । पुराना ताल र घोल व्यवस्थापनमा पनि निकुञ्जले चासो दिदै आएको छ ।

बाघको आहाराका लागि उसले सिकार गर्ने प्रजाति चित्तल, हरिण र अन्य जन्तुको संख्या पर्याप्त हुनु आवश्यक छ । घाँसे मैदानको क्षेत्र बढ्दा ती जन्तुको बासस्थान पनि बढ्छ । हरिण, चित्तल लगायत वन्यजन्तुको संख्या बढ्दा बाघको आहारा बढ्छ । घाँसे मैदान बढ्दा आहाराको खोजीमा बास गाउँबस्ती पस्ने सम्भावना कम हुन्छ ।

गैंडा र हात्तीका लागि आहाल खेल्न ठूलो क्षेत्र चाहिने भएकाले त्यसको व्यवस्थापन गरिएको सूचना अधिकारी तिवारीले बताए । गोहीका लागि पनि आहाल आवश्यक भएकाले गोही पाइने क्षेत्रमा घोल व्यवस्थापन बढाइएको छ । पुराना घाँसे मैदानमा बुट्यान बढ्ने भएकाले त्यसलाई हरेकवर्ष काँटछाट गर्ने गरिएको छ । मुना, टुसा र कलिलो घाँस वन्यजन्तुले बढी रुचाउँछन् ।

कावासोती नगरपालिकाका पूर्व उपप्रमुख प्रेमशंकर मर्दनिया मध्यवर्ती क्षेत्रमा निर्माण गरिएको घाँसे मैदानमा वन्यजन्तु चर्न आउने हुनाले पर्यटकलाई देखाउन पाइएको बताउँछन् ।

मध्यवर्ती सामुदायिक वनहरूले घाँसे मैदान जोगाउन प्राथमिकता दिएका कारण वन्यजन्तु बाक्लो संख्यामा चर्न आउने र त्यही देखाएर होमस्टे र अन्य पर्यटकीय होटलले पर्यटक आर्कषण गर्न हानथाप नै हुने गरेको उनले बताए । वन्यजन्तु देखिने ठाउँमा पर्यटकलाई जिप सफारी गराउने गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस