२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु जिल्ला अस्पताललाई सय बेडको गराउन मुख्यमन्त्रीको ध्यानाकर्षण

२०७९ मंसिर २३, शुक्रबार प्रकाशित ( साल अघि) ५१५ पाठक संख्या

नवलपुर । नवलपुरको मध्यविन्दु अस्पतालको स्तरोन्नतीका लागि अस्पताल व्यवस्थापनले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण गराएको छ । अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेसहितको टोलीले मुख्यमन्त्रीलाई शुक्रबार भेटेर अस्पतालको स्तरोन्नतीका साथमा भौतिक संरचना निर्माणका लागि समेत ध्यानाकर्षण गराएको हो ।

मुख्यमन्त्री पोखरेलले अस्पतालको स्तरोन्नतीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। विश्ववन्धु बगालेलाई निर्देशन दिए । सय बेडको बनाउन, भौतिक संरचना थप, ओएन्डएमका साथै डायलासिस सेवा विस्तारका लागि माग आएकोमा ती सबै विषयमा प्रक्रिया अगाडि बढाउन मुख्यमन्त्री पोखरेलले निर्देशन गरेका छन् ।

हाल १५ बेडको स्वीकृति पाएको अस्पतालमा ५५ बेड सञ्चालनमा छ । तर पनि बिरामीको चाप धान्न कठीन भएको भन्दै सय बेडको अनुमतिका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको अध्यक्ष घिमिरेले बताए । उक्त अस्पताल क्षयरोग बिरामीको रिफरल सेन्टर समेत हो । कडा खालका क्षयरोगीलाई आवासीयरुपमा उपचार तथा स्याहार हुँदै आएका छ । दामिनी फाउन्डेसनको सहयोगमा निर्मित रिफरल सेन्टरका लाथि समेत थप बजेट अस्पतालले माग गरेको छ ।

१५ बेडको अस्पतालका लागि हाल १ सय २५ कर्मचारी कार्यरत छन् । तीमध्ये ३२ जनामात्र सरकारी दरबन्दीका छन् । अध्यक्ष घिमिरेले भने, ‘जनशक्ति थप का लागि अस्थायी ओएन्डएम गराएर जानुपर्ने अवस्था छ । यसबाट जनशक्ति थप्ने बाटो खुल्छ । यसका लागि प्रदेश सरकारले पहल गरिदिओस् ।’

अस्पतालमा गत सातामात्र ४ वटा डायलासिस मेसिन जडान गरिएको छ । तीमध्ये ३ वटा मेसिनबाट सेवा प्रवाह हुँदै आएको छ । एउटा मेसिन जगेडामा राख्नुपर्ने भएकाले ३ वटा सञ्चालन हुने गरेको हो । जसबाट प्रत्येक दिन ३ जनाको मात्र डायलासिस हुने गरेको छ । यसो गर्दा सातामा जम्मा ९ जनाको पालो आउँछ । उक्त अस्पतालमा डायलासिस गर्न ६५ जना बिरामीको नाम सूचीकृत छ । थप बिरामीलाई सेवा दिनका लागि कम्तीमा पनि १० वटा मेसिन आवश्यक रहेको अध्यक्ष घिमिरेले बताए ।

डायलासिस बेड प्रदेश आपुर्ति केन्द्रले उपलब्ध गराउने प्रतिबद्धता गरिसकेको भन्दै थप ६ मेसिन उपलब्ध गराउन उनले मुख्यमन्त्री पोखरेलसँग आग्रह गरे । मेसिन सञ्चालनका लागि कावासोती र मध्यबिन्दु नगरपालिकाका साथै हुप्सेकोट गाउँपालिकाले समेत सहकार्य गर्ने जनाएको अध्यक्ष घिमिरेले बताए । जर्मन संस्था र नेपाल सरकारको संयुक्त लगानीमा अहिले भवन बनिरहेको र त्यसलाई पूरा गर्न करिब ४ करोड बजेट आवश्यक रहेको भन्दै त्यसका लागि समेत अस्पतालले माग गरेको छ ।

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विश्ववन्धु बगालेले बिरामीको चाप बढिरहेको अवस्थामा अस्पतालको स्तरोन्नती जरुरी रहेको भन्दै क्याबिनेटका लागि प्रस्ताव तयार गरेर सहमतिका लागि अर्थमन्त्रालयमा पठाएको बताए । उनले भने, ‘सरकारले नीतिगत निर्णय भइसकेपछि ओएन्डएम गर्न सकिन्छ । स्थायी कर्मचारी नियुक्तिका लागि मार्ग प्रसस्त नभएको अवस्थामा अहिले अस्थायी ओएनएम गरेर जानुपर्छ ।’

राजमार्गको नजिकै भएकाले ट्रमा फेन्ड्ली इमरजेन्सी चलाउनु पर्ने भन्दै यसका लागि आगामी वर्षको बजेटमा यसलाई समावेश गर्नुपर्ने उनले बताए । उक्त अवसरमा अस्पताल व्यवस्थापन समिति सदस्य दुर्गा रिजाल पौडेल, वैकुन्ठ अर्याल, पूर्व सदस्य सीता कुँवर सहभागी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस