२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणीमा आकर्षक सिग्नेचर ब्रिज बनाउन बजेट विनियोजन

२०७८ जेष्ठ १७, सोमबार प्रकाशित ( साल अघि) ४७१२ पाठक संख्या

नवलपुर ,१७ जेठ । सरकारले प्रस्तुत गरेको बजेटमा जिल्लाका विभिन्न क्षेत्रलाई समेटेको छ । सरकारले जिल्लाको माडीमा राममन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ । यसै वर्ष रामनवमीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राम, सीता र लक्ष्मणको मूर्ति बनाएर माडी पठाउनुभएको थियो । यस्तै सरकारले नारायणी नदीको त्रिवेणीबाट नारायणगढ, देवघाट हुँदै दासढुङ्गासम्मको खण्डलाई मदन–आश्रित जलमार्ग नामकरण गर्दै बजेट विनियोजन गरेको छ । नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनललगायतका पूर्वाधार निर्माण गर्नका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

नारायणीको सडक पुललगायत देशका १० वटा सडक पुललाई स्तरोन्नति आकर्षक सिग्नेचर ब्रिजले प्रतिस्थापन गरिने योजना सरकारले बनाएको छ । ती पुलको डिजाइन एवं विस्तृत परियोजना प्रतिवेदन तयार गर्न ख्यातिप्राप्त अन्तर्राष्ट्रिय परामर्शदातालाई सहभागी गराइनेछ ।भरतपुर विमानस्थलको विस्तार एवं स्तरोन्नति गरिने बजेटमा उल्लेख गरिएको छ । देशभरका आन्तरिक विमानस्थलको विस्तार एवं स्तरोन्नतिका लागि रु एक अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ । चितवन र मकवानपुर जिल्लाका राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खण्डको पुनः रेखाङ्कन गरी निर्माण गरिने बजेटमा प्रस्तुत गरिएको छ । देवघाटलगायत देशभरका धार्मिक क्षेत्रको संरक्षण र विकासका लागि बजेट व्यवस्था गरिएको छ ।

रत्ननगर नगरपालिकासहित देशभरका १७ स्थानमा सरकारले कृषि थोक बजार स्थापना गर्ने भएको छ । आगामी आवमा समृद्ध तराई–मधेश सिँचाइ विकास कार्यक्रमअन्तर्गत चितवन, नवलपरासीलगायत २५ जिल्लाको २० हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न पाँच हजार स्यालो ट्युबेल र २०० डिप ट्युबेल जडान गरिने बजेटमा उल्लेख छ ।

निजी क्षेत्रसँगको सहकार्यमा चितवन, कञ्चनपुर, बर्दिया, नुवाकोट र दोलखामा प्रकृतिमा आधारित पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । चितवन, पर्सालगायत तराई–मधेशका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ । जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न स्थानीय समुदायको क्षमता अभिवृद्धि कार्यक्रम पनि बजेटमा समावेश छ ।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइनलाई तीन वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ । क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संस्थान मातहत सञ्चालन गरिने व्यवस्था गरिएको छ । भरतपुर क्यान्सर अस्पतालसहित छवटा ठूला अस्पतालको पूर्वाधार निर्माण गर्न रु एक अर्ब २८ करोड विनियोजन गरिएको छ ।

भरतपुरलगायत ठूला शहरमा विद्युतीय भूमिगत तार निर्माणको काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने बजेटमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गका सडकमा अधिकतम गतियुक्त, सुरूङमार्ग, उचाइयुक्त पुल, फ्लाइओभर वन्यजन्तु मार्ग बनाइने छ । सोअन्तर्गत चितवनबाट हेटौँडा हुँदै पथलैयासम्मको सडक पनि परेको छ । चेपाङ, माझी, मुसहरलगायत आर्थिक, सामाजिकरूपमा पिछडिएका, कोभिड सङ्क्रमितबाट मृत्यु भएका परिवारका छोराछोरीलाई पठनपाठनका लागि बजेट विनियोजन गरिएको छ । चेपाङ जातिको ठूलो जनसङ्ख्या यहाँ रहेको छ ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%९%४%२%४%

प्रतिक्रिया दिनुहोस