२०८१ बैशाख २४, सोमबार
नयाँ
पछिला अपडेट

पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

२०८१ बैशाख १२, बुधबार प्रकाशित ( हफ्ता अघि) १४९ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभइ पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको छ ।

डाँडामा रहेको तीनकन्या माईको दर्शन गर्न आउनेको संख्या बढेको देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले बताए । चैते पूर्णिमामा यहाँ पूजाका लागि ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् । उक्त दिन तीनकन्या माईको पूजा हुने गर्दछ । थारू समुदाय यस दिन शिरथान कुमारवर्ती माईका रूपमा पूजा गर्न देवचुली डाँडा आउँछन् ।

सोमबारको चैते पूर्णिमाका दिन पूजाका लागि १ हजार ५५ जना दर्शनार्थी देवचुली डाँडा आएको अध्यक्ष गिरीले जानकारी दिए । थारू समुदायका मानिस देवचुली–६ स्थित कीर्तिपुर पहिलो दिन बास बसेर माईको आराधना गरी दोस्रो दिन इन्द्रसोत पुगेर बास बस्ने गर्छन् । तेस्रो दिन अर्थात् पूर्णिमाको दिन देवचुली डाँडामा पुगेर पूजा गर्ने चलन छ । पूर्णिमाको दिन अन्य समुदायले आफ्नो मनोकांक्षा पूरा होस् भनी पूजा गर्ने चलन छ ।

पूजा गर्न आउने श्रद्धालुभक्तजनको सहजताका लागि यसपटक देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले स्वयंसेवक परिचालन गरेको थियो । समितिका अध्यक्षका गिरीका अनुसार भीडलाई व्यवस्थापन गर्न सिर्जना सामुदायिक वन समूह कीर्तिपुर र चुलीबोझा मगर होमस्टेले स्वयंसेवक परिचालन गरेका थिए । पूजामा भक्तजनले भेडा, पाठापाठी, परेवा चढाउने मूल पुजारी गुनबहादुर गुरौले बताए । समुन्द्री सतहदेखि एक हजार ८ सय मिटर अग्लो ठाउँमा रहेको गुफाभित्र माईको पूजा गरिन्छ ।

तीन कन्यामाईमा पूजा गर्ने प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देवचुली नगरपालिका–६ का अध्यक्ष एवं देवचुली डाँडा संरक्षण तथा पर्यटकीय निर्माण समितिका सदस्य मीनबहादुर सोतीले बताए । देवचुलीमाई, शिरनाथ कुमारवर्ती माईको नामलेसमेत प्रसिद्ध रहेको तीनकन्यामाईको प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन भव्यताका साथ पूजा गरिन्छ । माइको पूजाआजा गर्नाले जीवन र परलोकमासमेत सुख मिल्ने धार्मिक मान्यता छ ।

१९३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमश्रृंखला, दक्षिणतर्फसम्म फाँट नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न वस्तीको दृश्यावलोकन गर्न सकिन्छ ।

द्वापरयुगमा पाँच पाण्डव द्रौपदीसहित केही समय गुप्तबास बसेको किंवदन्तीका कारण यस गुफाको धार्मिक महत्व छ ।  गुफाभित्र मानिस, जनावरका आकृति देखिने र सारङ्गीको धुन निस्कने ढुङ्गाहरूका कारण यो गुफा विशेष आकर्षणको केन्द्रविन्दु बनेको छ ।

पूर्वपश्चिम राजमार्गको दलदलेदेखि मुन्डे हुँदै देवचुली नगरपालिकाको कीर्तिपुरबाट पाँच किलोमिटरको दूरीमा देवचुली डाँडा पर्छ । कीर्तिपुरबाट पैदल हिँडेर करिब तीन घण्टामा देवचुली पुग्न सकिन्छ ।

सवारीसाधनमा जाने र पहाड पनि घुम्न रुचाउने बुलिङटार–४ को बोझापोखरी हुँदै पूर्वतर्फबाट पनि चुली जान सक्छन् । कीर्तिपुर र बोझा पोखरीबाट पैदल आउनेहरू चुलीको फेदीमा भेट हुन्छन् । पैदलयात्रुलाई सहज होस् भनेर देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले सिँढी तथा रेलिङको व्यवस्था गरेको छ ।

चैत वैशाखमा फुल्ने लालीगुराँसले यहाँ आउने पर्यटकलाई पुलकित बनाउने गर्दछ । तीनकन्या माईसँग मागेका कुरा प्राप्त हुने विश्वासका कारण यहाँ आउने भक्तजनको संख्यामा वृद्धि भएको स्थानीय बताउँछन् । दलदले–बोझापोखरी–कोखेटार सडक, मुन्डे कीर्तिपुर सडकको निर्माणले पर्यटक यहाँ आउन सहज भएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस