२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको आइसोलेसन कक्षबाटै पत्रकारिता गर्दै वस्ताकोटी

२०७७ भाद्र ११, बिहिबार प्रकाशित ( साल अघि) १११५ पाठक संख्या

नवलपुर, भदौं ११- आजभोलि नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालमा भने फरक दृष्य देख्न सकिन्छ । नेपालकै उत्कृष्ट आइसोलेसनको रुपमा ख्याति पाएको यस ठाउँमा कोरोना संक्रमितहरु बिहान उठेदेखि नै योग ध्यान प्रणायम लगाएतका नित्यकर्ममा व्यस्त देखिन्छन । उनीहरु विभिन्न ध्यान र प्राणायाममा व्यस्त हुन्छन् । सन्तुलित भोजन गर्छन् र एक आपसमा मनोबल उच्च राख्न प्रेरित गर्छन् ।

रजहरको आइसोलेसनमा रहेका संक्रमित मध्ये पत्रकार रमेश वस्ताकोटी भने यो भन्दा फरक दैनिकीमा हनुहुन्छ । उहाँ आफ्नो नियमित उपचार र अभ्यास गरे पछि भने प्रविधिको प्रयोग गर्दै आफ्नै पेसामा व्यस्त हुनुहुन्छ । उहाँ साबिक झै दिनहुँ आइसोलेसन कक्षबाटै समाचार, लेखहरु लेख्छन् र अन्तर्वार्ताहरु लिनुहुन्छ ।

झण्डै १८ वर्ष लामो सञ्चारक्षेत्रको अनुभव सगाल्नु भएको वस्ताकोटी यति बेला कोरोना महामारीमाको समयमा अग्रमोर्चामा रहेर आफ्नो समाचार कर्ममा जुटि रहँदा आफँै कोरोना संक्रमित भए पछि नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत हुनुहुन्छ । तर, उहाँको दैनिक क्रियाकलाप र सक्रियता देख्दा लाग्छ, उहाँमा कुनै संक्रमणनै छैन।

बिहान उठेर आइसोलेसनको नियमित कर्म सके पछि कोरोना संक्रमितहरु, संक्रमणको जोखिममा रहेकाहरु, होम आइसोलेसन र क्वारेन्टाइनमा बसेकाहरुको आत्मबल बढाउने समाचारमूलक सामग्रीहरु सामाजिक सञ्जाल मार्फत् उत्पादन प्रसारण गर्नु उहाँको अर्को काम हो । यही दौरानमा उहाँले आफैलाई उपचार गर्ने डा विनोद पौडेलको अन्तर्वार्ता लिनु भयो, चार वटा जति कोरोना संक्रमितलाई मनोबल बढाउने लेख लेख्नुभयोप, दैनिक समाचारमा अपडेट हुने र समाचार लेख्ने काम उहाँले कुनै दिन पनि छाड्नु भएको छैन ।

‘कोरोना संक्रमित भएर आइसोलेसन मा नै रहँदा पनि आफ्नो पेसाबाट अलग हुन सक्नु भएन, मन ले मानेन । आफ्नो दायित्व बाट विमुख हुन सकिएन । अरु देशभरका संक्रमितहरु , संक्रमणको जोखिममा रहेकाहरु, होम आइसोलेसन र क्वारेन्टाइनमा बसेकाहरुलाई उपयोगी होस् भनेर मैले यो कर्म आइसोलेसनमा बसेर पनि गरेको छु’ बस्ताकोटीले बताउनु भयो । उहाँले आफूमा मनोबल उच्च रहेको भन्दै आफ्नो नियमित कुनै पनि काम नछाडेको जानकारी दिनुभयो । ‘काममा हुँदा व्यस्त भइन्छ , अनेक तर्कना मनमा आउँदैन , समाजको लागि लेखिन्छ पनि, अरुलाई पनि मनोबल बढोस् भनेर मैले आफ्नो काम छाडेको छैन ।’ उहाँले भन्नुभयो ।

आइसोलेसनमै रहेर वस्ताकोटी दैनिक जसो फेसबुक लाइभमा आउँनु हुन्छ । कोरोना संक्रमणका विषयमा आफ्ना अनुभव , संक्रमणबाट जोगिने उपाय र संक्रमित व्यक्ति र उसको परिवारलाई समाजले गर्ने व्यवहार उनको विषय रहन्छ । प्रविधिको प्रयोग गर्दै अस्पतालका चिकित्सक र विज्ञसँग अन्तरवार्ता गर्ने र धारणा लिने काम गर्दै जनतालाई सुसूचित गराउने काममा उहाँ लागिपर्नु भएको छ ।

पछिल्लो समय संक्रमणको दर बढे सँगै संक्रमित व्यक्ति र उनीहरुको परिवार, चिकित्सकहरुलाई गरिएको दुव्र्यवहार गर्नेहरुप्रति आईसोलेसन बाट नै उहाँ खबरदारी गर्न र संक्रमित र उनीहरुको परिवारको हौसला बढाउन पनि नियमित रुपमा लागि पर्नु भएको छ । ‘संक्रमित र उनका परिवारलाई गर्ने व्यवहार बडो दुःख लाग्दो छ , यो कोरोना भन्दा ठूलो महामारी हुने भो, समाजमा खनिएको यो खाडल पुर्न धेरै समय लाग्छ ।’ उहाँ गुनासो गर्नुहुन्छ ।

वस्ताकोटीले आइसोलेसनमा बसेर सञ्चार माध्यम मार्फत् कोरोना संक्रमित र संक्रमणको जोखिममा रहेकाहरुको आत्मबल बढाउन गरेको कामले आइसोलेसनका चिकित्सकहरु पनि दंग छन् । ‘कोरोना संक्रमित हुनु आफैमा दुःखद् पक्ष पनि हो, आफू संक्रमित भएर पनि वस्ताकोटीले एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भयो, आफूलाई एक्सपोज गरेर म कोरोना संक्रमित भए तर मलाई कुनै लक्षण छैन, कोरोना सँग लडन आत्मबल आवश्यक हुदो रहेछ’, यी खालका कुराहरु र प्राकृतिक चिकित्सालयले गरेका प्रयत्नहरुलाई बाहिर ल्याएर कोरोनासँग लड्न र कोरोना संक्रमितलाई समुदायमा भएको नकारात्मक भावना हटाउन वस्ताकोटीले उदाहरणीय कार्य गरेको प्राकृतिक चिकित्सालयका निर्देशक डाक्टर विनोद पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘रमेश जी को सक्रियता बडो अचम्म को छ , उहाँमा उच्च मनोबल पनि छ । उहाँबाट धेरै कुरा अरुले पनि सिक्न सक्छन् ।’

वस्ताकोटी भदौ २ गते बाट आइसोलेसनमा हुनुहुन्छ । तर, उहाँको सक्रियतामा कुनै कमी छैन । नेपाल पत्रकार महसंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले वस्ताकोटीले कठिन परिस्थितिमा पनि आफ्नो पेसा नभुल्नु र नियमित त्यसैमा लाग्नु सबैको लागि प्रेरणाको विषय भएको बताउनु भयो । उहाँले वस्ताकोटीले देशभरका अन्य संक्रमित पत्रकारहरुको पनि मनोबल बढाउने काम गरेको विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘वस्ताकोटीले चिकित्सालयको आइसोलेशन अन्य संक्रमितको मनोभावना, त्यहाँका चिकित्सालयको उपचार विधि र अन्य गतिविधिका बारेमा सुक्ष्म निगरानी गर्दै सूचना प्रवाह गरेर सुसूचित गराएका छन् । सबैको चासो र चिन्ता हटाउन प्रयासरत छन् । त्यसैले अन्यमा सकारात्मक उर्जाको सञ्चार गराएको छ ।’

सत्यकलम अनलाइन र साप्ताहिक पत्रिका सञ्चालन गरिरहेका वस्ताकोटीको अनुपस्थितिले कुनै अप्ठ्यारो नभएको सत्यकलमका सम्पादक सालिकराम कोइरालाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘रमेश जी प्रकाशक हो , सम्पादकीय टिममा पनि हुनुहुन्छ , आइसोलेसनबाट नै उहाँले नियमित काम गरिरहनुभएको छ । हामी नियमित सम्पर्कमा रहेर काम गरेका छौ , कुनै काम रोकिएको छैन।’ उहाँले संक्रमित हुँदा पनि पेसा प्रतिको सक्रियता लोभलाग्दो भएको बताउनु भयो । रजहरको आइसोलेसनमा पत्रकार वस्ताकोटीसहित पत्रकार सागर पोख्रेल , अर्जुन अविरल र सञ्चार उद्यमी भरत पोखरेल पनि हुनुहुन्छ । पत्रकार पोखरेलले नियमित संक्रमितको डायरी लेखेर जनमानसमा पु¥याइरहनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस