२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गैँडाकोराज

२०८० पौष १२, बिहिबार प्रकाशित ( महिना अघि) ३५० पाठक संख्या

कावासोती । जाडो बढेसँगै पूर्वी नवलपरासीको निकुञ्ज आसपासका ठाउँमा गैँडा पसेर बालीनाली नै खान थालेपछि स्थानीय त्रसित बनेका छन्।

केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका गैँडाले गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकाका धेरै क्षेत्रमा किसानले लगाएको मकै, गहुँ, तोरीलगायतका बालीमा नोक्सान परेको छ । गैँडाकोट नगरपालिका–६, का किसान प्रकाश भुसालले बाली खानेदेखि सबै भाँचिदिने गरेकाले यो पटकको बाली नै भित्र्याउन नपाइने चिन्ताले किसानलाई पिरोलेको बताउनुभयो ।

पिठौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री पौडेलले यो समयमा बाली र मानिसको ज्यानसमेत खतरामा पर्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

जाडोयाममा घाम ताप्न गैँडा बाहिर निस्कने र हिउँदे बालीलाई पनि नोक्सान पु-याउने उहाँको भनाइ छ ।

गैँडाले अन्न बालीमा क्षति पु¥याउन थालेको र यस क्रममा केही दिनयता गैँडाको आक्रमणमा परी चार जना घाइते भएका छन् । संरक्षणकर्मी तिलक थापाले किसानको बालीसमेत खाएर सखाप पारेको बताउनुभयो।

गैँडाबाट बच्न सबैले घरबाटै एकाबिहानै निस्कन नहुने र ज्यादै सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीले अनुरोधसमेत गरेको छ । गैँडाले विशेष गरेर मकै खेतीमा नराम्ररी क्षति पु-याएको छ। तोरी, फापर, गहुँबालीमा समेत ठुलो मात्रामा क्षति पु-याएको रजहरका स्थानीयले गुनासो गरेका छन् । गैँडाकोटका प्रकाश भुसालले गैँडाकोट नगरपालिकाका–६ मा करिब २० बिघा क्षेत्रफलमा किसानले लगाएको मकै बाली गैँडाले नष्ट पारेको बताउनुभयो ।

गैँडालाई लखेट्न तीन वर्षअघि गैँडाकोटमै किसानले विद्युतीय धराप थाप्दा गैँडाको ज्यान गएको थियो । गैँडा मुद्दामा किसानले जेल जीवन बिताउनु परेको थियो । गैँडाकोट–७ का वडा सदस्य तारापति त्रिपाठीले गैँडा पसेपछि किसानले टुलुटुलु हेर्ने र घरभित्र पसेर बस्नुबाहेक अर्को विकल्प नरहेको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारी निकुञ्ज आसपासका स्थानीयलाई सचेतना अपनाउन आग्रह गरेको छ । गोरखापत्र अन्लाईनबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस