२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

बुटवल नारायणघाट सडक: ठूला पुलको काम कछुवा गतिमा

२०७८ फागुन ५, बिहिबार प्रकाशित ( साल अघि) १०८८ पाठक संख्या

नारायण शर्मा

कावासोती  — आउँदो वर्षायामअगावै निर्माण सम्पन्न गरिसक्ने भनिएका महेन्द्र राजमार्गका ६ वटा ठूला पुल निर्माणको काम कछुवा गतिमा अघि बढेको छ । एक वर्षभन्दा अघिबाट निर्माण थालिएको पुलको जग हाल्ने कामसमेत अझैसम्म हुन सकेको छैन ।

 

महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने-गैंडाकोट खण्डमा पर्ने ठूला एक दर्जन पुलमध्ये हाल निर्माणाधीन अवस्थाका ६ वटा पुल निर्माणको काम कछुवा गतिमा अघि बढेको छ । यो खण्डमा २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नका लागि बजेट विनियोजन भएको छ ।

तीमध्ये पहिलो चरणमा ६ वटा पुल फराकिलो पार्न काम अघि बढाएको एक वर्ष बितिसक्दा पनि जग हाल्नेबाहेक अरु काम हुन सकेको छैन । ठूला पुल निर्माण गर्न धेरै समय लाग्ने भनेर सुरु गरेको वर्षदिन बितिसक्दा २ वटा पुलको समेत जमिनमुनिको जग हाल्ने काम सकिएको छैन ।

 

यहाँका जयश्री, पत्थरखोला, बौलाह खोला र लोकाहखोला पुललगायतको निर्माण कार्य भने अघि बढेको छ । लोकाह र डन्डाको पत्थरखोला पुल वर्षायामअघि नै गाडी गुडाउन मिल्ने बनाउने लक्ष्यका साथ काम भइरहेको सडक इन्जिनियर राकेश झाले बताए । ती दुवै पुलको काम थालेको १७ महिना बितिसकेको छ । अन्य ४ वटामा जमिन खन्ने काम भइरहेको छ । कामको प्रकृति हेर्दा वर्षापयाम अगाडि सक्ने लक्षण देखिँदैन ।

 

इन्जिनियर झाका अनुसार आउँदो वर्षायामभन्दा अगावै अरु ४ वटा पुलको पनि जग हाल्ने काम (जमिन मूनिको काम) सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ । यो क्षेत्रमा पर्ने साना पुलहरूको निर्माण कार्य आउँदो असार अगावै सम्पन्न हुने गरी काम अघि बढेको छ । पुल निर्माण भइरहेको स्थानमा डाइभर्सन (वैकल्पिक सडक) बनाएर काम अघि बढेको छ । दाउन्ने-गैंडाकोट खण्डमा २ सय २० वटा साना पुल (कल्भर्ड)‚ २२ वटा मध्यम पुल (माइनर ब्रीज) र १२ वटा ठूला पुल पर्दछन् ।

 

दाउन्ने-गैंडाकोट खण्डमा साना-ठूला गरेर कूल २ सय ४४ वटा पुल रहेका छन् । तीमध्ये २५ मिटर फराकिला १२ वटा पुल रहेका छन् । सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसनले २०७५ माघ २४ मा सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता मितिबाट ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी सडक विस्तारको काम सुरु भएको थियो । सडक विस्तारको काम २०७९ साउन २२ मा सक्नुपर्ने गरी सम्झौता भएको थियो । यो माघ मसान्तसम्म सडकको कार्य प्रगति ११ प्रतिशतमात्र पूरा भएको छ ।

 

दाउन्ने खण्डको १४ किलोमिटर खण्डमा करिब ११ सय रुख काट्ने अनुमति पाएर दुई साताअघिबाट रुख काट्न सुरु भएको छ । दुम्कीबास बर्दघाट (दाउन्ने पहाड क्षेत्र)को १४ किलो मिटर सडक ३ लेनको हुनेछ । गैंडाकोट-दाउन्ने खण्डमा पर्ने बजार क्षेत्रको १७ किलोमिटरभित्र ६ लेनको सडक निर्माण हुने छ भने जंगल एरियामा ४ लेनको सडक विस्तार हुने छ ।

 

लागत बढ्दैन ‍

ठेकेदार कम्पनीका बुटवल-नारायणगढ सडक खण्डको १ सय १४ किलोमिटर सडक फराकिलो पार्ने काम आगामी साउनसम्म सपन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । तर‚ निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनीले काम कछुवा गतिमा अघि बढाएका कारण तोकिएको समयमा सम्पन्न गर्ने स्थिति देखिँदैन ।

 

सडक इन्जिनियर रमेश दृष्टिका अनुसार ठेकेदार कम्पनीले समयमा काम सम्पन्न नगरेका कारण २ वर्ष म्याद थप्न पत्र पठाएको छ । ‘मागअनुसार समय थप्नै पर्ने भए पनि सरकारले निर्माण कार्यमा लागत रकम थप्दैन‚’ दृष्टिले भने‚ ‘ठेकेदार पक्षले आफैं गरेको ढिलाइमा सरकारले लागत रकम बढाउने सहमति दिन सक्दैन । सरकारी पक्षका कारण काममा ढिलाइ भएको छैन । ठेकेदारले नै ढिलाइ गरेको सन्दर्भमा समय थपिए पनि रकम बढाइँदैन ।

 

यो कामका लागि चिनियाँ ठेकेदार कम्पनीलाई नेपाल सरकारले १७ अर्ब रुपैयाँमा ठेक्का दिएको हो । राजमार्ग निर्माणका क्रममा ठेकेदारले धुलो र खाल्डाखुल्डीरहित बनाउनुपर्ने सम्झौतामा भए पनि त्यसरी काम गरेको छैन । सडक निर्माणका क्रममा धुलो उड्न नदिन पानी हाल्नुपर्ने शर्त भए पनि ठेकेदारले पानी नहालेकाले बजार क्षेत्र जताततै धुलाम्मे बनेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस