२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवन सहित विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

२०७७ चैत्र २, सोमबार प्रकाशित ( साल अघि) १२१५ पाठक संख्या

चितवन , २ चैत । काठमाडौं, सिन्धुली, बाँके र चितवनका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ।

चितवन, राप्ती नगरपालिका-३ मार्तलपुल नजिक सडकमा ना.८ ख १४२० नम्बरको ट्रक र बा.१८ च १३७१ नम्बरको बलेरो एक-आपसमा ठक्कर खाई ट्रक सडकबाट करिब १० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा ट्रक चालक धादिङ धुसा गाउँपालिका-१ बस्ने २६ वर्षीय महेश फुँयालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रकका सहचालक तनहुँ बन्दिपुर गाउँपालिका-५ बस्ने २७ वर्षीय बिबेक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउँस्थित सडकमा प्रदेश नम्बर ३-०१-००५ ख ९४८६ नम्बरको बसको पछाडिको टायरले किच्दा सोही नगरपालिका-८ ढाक्सी बस्ने ओम आचार्यको छोरी ५ वर्षीया सोनिका आचार्यको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको शहिद मेमोरियल अस्पताल कलंकी हुँदै कान्ती बाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ देउरालीस्थित सडकमा प्रदेश २-०३-००१ क ०५९९ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा टिपर चालक मकवानपुर भिमफेदी-२ बस्ने २५ वर्षीय बिनोद बलको घटनास्थलमै मृत्यु भएको छ ।

सिन्धुली, सुनकोशी गाउँपालिका-३ सादीखोलास्थित सडकमा ना.७ ख ८९२ नम्बरको बस र बा.७३ प २५८३ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे बनेपा नगरपालिका-६ बुडोल बस्ने २० वर्षीय दिपन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार धुलिखेल नगरपालिका-२ बस्ने १८ वर्षीय पवन कोईरालाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१४ बालेगाँउस्थित सडकमा भे.३ प ६९७१ नम्बरको मोटरसाइकलको ठक्करबाट भारत घर भएका मक्सुदा अली कवडियाकी छोरी ८ वर्षीया गुलावसा कवडियाको आइतबार राति मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको भेरी अस्पताल नेपालगंज हुँदै थप उपचारको लागि भारतको लखनउतर्फ लैजाने क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस