२०८२ अषाढ २०, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा रैथाने धान खोज्दै बीउबैंकमा किसान

२०८१ जेष्ठ २९, मंगलबार प्रकाशित ( साल अघि) ५०३ पाठक संख्या

घनश्याम बगाले

कावासोती । नवलपुरको कावसोती स्थित किसान मन्जु अधिकारी शुक्रबार रैथाने धानको बीउ खोज्न स्थानीय बीउ बैंक पुगिन् ।

एक दशक अघि कास्की  जिल्लाको पोखरा पुगेर त्यहीको रैथाने जेठोबूढो र पोखरेली पहेलो ल्याई खेतमा लगाउदै आएको धान यस पटक मासिदा उनलाई बीउको अभाव भएको हो । त्यही भएर झिनुवा र अनदीको बीउ खोज्दै स्थानीय सामुदायिक बीउ बैंक आईपुगेको अधिकारीले सुनाईन् ।

स्थानीय गाउँ घर र सहर बजारमा चाडबाड र मेला पर्वका बेला घरमै खान होस या  पाहुनाको स्वागतमा अनदीको चिचर, झिनुवाको खाजा मिठो मसिनोका रूपमा पस्कने पुरानै चलन हो । तर पछिल्ला केही बर्ष यता यस्ता रैथाने धानहरू ढिला पाक्ने, उत्पादन कम हुने भन्दै किसानहरूले खेतमा लगाउनै छाडी सकेकाछन् ।

पहिला किसानहरूले मुख्य रूपले वर्ष भरि खान र घर खर्च टार्न बेच्न समेत हुने गरि धेरै फल्ने उन्नत धान लगाए पनि खेतको कुनै गरोमा मसिनो धान लगाएकै हुन्थे स्थानीय मान महतोले बताए । त्यसो त झण्डै डेढ दशक देखि परम्परागत धान तथा रैथाने बाली बिरुवाको बीउ बिजन जोगाउन कावासोती १४ अग्यौलीमा कृषि बिकास तथा संरक्षण कृषक समितिले बीउ बैंक संचालन गर्दै आएको छ ।

वर्षा लागेसंगै धानको ब्याड राख्ने समय चलि रहदा बैंकका कर्मचारीलाई पनि बीउ धान बेच्न भ्याई नभ्याई छ । बीउ बैंकमा रैथाने जातका अतिरिक्त सावित्री,सावाँ, वार लगायतका कतिपय उन्नत जातका धानको बीउ पनि उपभोक्ताको माग अनसार बिक्री बितरणका निमित्त राखिएको छ । अधिक माग रहेको रैथाने जातको घ्यूपुरी धान सकिए पछि पश्चिम बर्दीया पुगेर बीउ खरिद गरि ल्याईएको सामुदायिक बीउ बैंक नेपालका अध्यक्ष पार्वती भण्डारीले बताईन्

बैंकले स्थानीय गाउँ घरबाट आउने चामलको माग पूरा गर्न अनदी, झिनुवा,कनकजिरा, जोगनी, सठिया, सत्तरी लगायतका रैथाने धान संरक्षण गर्दै आएको छ । बीउ बैंकमा रैथाने बाली संरक्षण र ग्राहकलाई बीउ उपलब्ध गराउन यहाँको करिव १ बिगाहा १० कठ्ठा खेतमा विभिन्न ब्लक बनाई धान खेती गर्दै आएको स्थानीय किसान एवं बीउ बैंकका  सल्लाहकार  चेत नारायण महतोले बताए ।

बीउ सुरक्षित होस भनी संस्थाका लागि घर नजिकै खेतको पाटोमा यस पटक ६४ भन्दा बढी जातका रैथाने धानको बीउ छरिएको महतोको भनाई छ । महतोका अनुसार ब्याडमा राखिएको बीउ तयार भए पछि रैथाने बाली जोगाउन बैंक आँफैले भाडामा लिएको खेतमा धान रोप्ने गर्दै आएको छ ।

बिगतमा स्थानीय किसानहरूलाई जम्मा पारी रैथाने धान बचाउन लिवर्ड नामक एक गैह्रसरकारी संस्थाले कतिपय धानका बीउनै दिएर सहयोग गरेको स्थानीयहरू बताउछन् । हाल सामुहिक प्रयासमा बीउ बैंक संचालन गर्दै आएको यस संंस्थाले दलहन,तेलहन तथा लहरे बाली बिरुवा, कोदो, फापर, धान, आलस, केराउ, तिल लगायत रैथाने बाली संरक्षण तथा बीउ साटासाट कार्य पनि गर्दै आएको छ । बीउ बैंकको दिगो संचालनार्थ स्थानीय पालिका तथा जिल्ला स्थित कृषि ज्ञान केन्द्रबाट व्यवस्थापकीय तथा प्राविधिक सहयोग रहदै आएको बताईन्छ ।

अनदी र घ्यूपुरीको हिउदे बाली परीक्षण समुदायमा संचालित रैथाने धान बीउ पाईने एकमात्र सामुुदायिक बीउ बैंक संघ नेपालले सम्भवत नेपालमै पहिलो पटक घ्यूपुरी धानलाई चैतमा पनि रोपेर परीक्षण गरेको छ ।

रैथाने धान खोज्दै जाँदा संस्थाका एक सदस्यकै आफन्तको घर पश्चिम कैलालीबाट ७ किलो घ्यूपुरी धान ल्याएर खेती गर्न थालिएको बीउ बैंकका संस्थापक संयोजक तुलसी नारायण श्रेष्ठले बताए । श्रेष्ठका अनुसार घ्यूपुरी रैथाने जातको धान भएर पनि छिटै पाक्ने छुट्टै जातीय गुण भएकाले यसलाई हिउँदमा पनि रोप्न थालिएको हो ।

यस बिषयमा कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थ बिज्ञ संजय ढकालले बीउ बैंकले यो नवीन प्रयास थालनी गरे पनि व्यवसायिक उत्पादनका लागि अझ एक दुई बर्ष हेर्नू पर्ने बताउछन् ।

खाँदा अत्यन्त मिठो र बर्षामा मात्र लगाईने सेतो अनदी र घ्यूपुरी हिउँदमा पनि उत्पादन हुन थाले पछि स्थानीय किसानहरू पनि उत्साहित बनेकाछन् । बजारमा अनदी, झिनुवा, कनकजिरा, दुधराज चामलको मूल्य उच्च  रहदा स्थानीय सामुदायिक बीउ बैंकले यही जातको बीउ धान १ सय २० रूपैयाँ प्रति केजिमा बिक्री गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस