कावासोती । नेपाली कांग्रेस नवलपुरका आठ वटा स्थानीय तहका सभापतिहरुले पार्टी नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन्।
बुधबार कावासोतीमा बसेको सभापतिहरुको बैठकले नेतृत्व परिवर्तन आवश्यक रहेको निष्कर्ष निकाल्दै जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई विशेष महाधिवेशनको पक्षमा चलिरहेको हस्ताक्षर अभियानमा सहभागी हुन आग्रह गरेको छ।
बैठकले जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई पनि आगामी केन्द्रीय समितिको बैठकमा विशेष वा नियमित अधिवेशनको पक्षमा निर्णय गराउन पहल गर्न अनुरोध गरेको छ।
बैठकपछि जारी विज्ञप्तिमा देवचुली नगर सभापति डिल्लीराम कडरिया, गैँडाकोट नगर सभापति बद्री सापकोटा, मध्यविन्दुका कार्यवाहक नगर सभापति जितबहादुर थापा, कावासोती नगर उपसभापति गोमा खण्डलुक, बुलिङटार सभापति ओमकुमार श्रेष्ठ, हुप्सेकोट सभापति बलबहादुर राना, विनयी त्रिवेणी सभापति अजित थापा लगायतका हस्ताक्षर छन्।
बौदीकाली सभापति केबी रानाले बैठकमा उपस्थित नभए पनि अभियानको समर्थन रहेको बताएका छन्। सभापतिहरुको बैठक र एजेन्डा समन्वय अभियानका पक्षमा खुलेर लागेका गैँडाकोट नगर सभापति बद्री सापकोटाले गरेका हुन्।