मध्यविन्दु । नवलपुरको मध्यविन्दु नगरपालिका लगायतका विभिन्न स्थानमा आज बिहानदेखि परेको वर्षाले मौसम शितल बनेको छ ।
केही महिनायता लगातारको खडेरीपछि परेको पानीले जनजीवन सहज बनाउनुका साथै किसानहरूमा उत्साह थपेको छ । पानी नपरेर लामो समयदेखि बढ्दो गर्मी र वायु प्रदूषणले जनस्वास्थ्यमा असर पारिरहेको अवस्थामा परेको वर्षाले वातावरण पनि सफा भएको छ ।
वर्षासँगै खेतबारीमा लगाइएका मकै, तरकारी लगायतका बालीमा राहत पुगेको किसानहरूको भनाइ छ। त्यसका साथै बेड राख्ने, मलजल गर्ने र नर्सरी सार्ने काम समेत सहज भएको किसानहरूले बताएका छन्।
स्थानीय कृषक पितम्बर पाठक भन्छन्, “धेरै समयपछि पानी परेको छ, यो पानीले हाम्रो खेतीपातीलाई ठूलो राहत दिएको छ । साथै मौसम पनि शीतल महसुस गरिएको छ।”