कावासोती । अत्याधिक गर्मीबीच पटक–पटक बत्ती जाने समस्याले हैरान उपभोक्ताहरूले कावासोती वितरण केन्द्र घेराउ गरेका छन् । बुधवार राति नाराबाजीसहित कार्यालयमा धर्ना दिइएको हो।
स्थानीयका अनुसार मंगलबार साँझदेखि लगातार लाइन काटिँदै आएको छ । उपभोक्ता रामकुमार श्रेष्ठका अनुसार मंगलबार राति ११ बजेसम्म १८ पटक र बुधवार साँझदेखि राति १० बजेसम्म १२ पटक लाइन गएको थियो । ‘लाईन आउन नपाई काटिने समस्याले दिक्क भएर हामीले कार्यालय घेर्यौं,’ स्थानीय अनमोल थापा मगरले भने ।
विद्युत प्राधिकरणका कावासोती वितरण केन्द्र प्रमुख सूर्य मण्डलले समस्या पहिचानको क्रममा बत्ती आउने,जाने भएको बताए। उनका अनुसार हाल ३५ मेगावाट लोड पुगेको छ, जुन कावासोतीमा अहिलेसम्मकै उच्च हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) कावासोती नगर कमिटीले पनि प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ। विना सूचना बत्ती काटिएको भन्दै पूर्वसूचना दिने, फोन गर्दा जवाफ दिने लगायत ८ बुँदे माग गरिएको नगर अध्यक्ष मोहन बस्नेतले जानकारी दिए ।