२०८१ बैशाख २६, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बोटबाटै सुन्तला बिक्री भएपछि कृषक उत्साहित

२०८० मंसिर १३, बुधबार प्रकाशित ( महिना अघि) ३६५० पाठक संख्या

मीना कंडेल

कावासोती । नवलपुरमा बोटबाटै सुन्तला बिक्री भएपछि कृषक उत्साहित बनेका छन् । व्यावसायिक रूपमा सुन्तला खेती विस्तार भएका क्षेत्रमा उत्पादित सुन्तलाको खरिदका लागि व्यवसायी बगैँचामै पुग्छन् ।

नवलपुर जिल्लाको पहाडी क्षेत्र बबक सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरथोर सुन्तला लगाउने गर्छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौबारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुन्छ ।

नवलपुरको बौदीकाली–५, बबकका गेस बहादुर रानाको दैनिकी सुन्तला टिप्ने र सङ्कलन गरी बेच्दै बित्छ । पेसाले शिक्षक भएपनि बिहान बेलुकाको समयमा कृषिमा समय दिँदै व्यवसायीक सुन्तला खेती गरेको रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “बबकमा अन्य खेतीभन्दा सुन्तला राम्रो उत्पादन हुन्छ । अघिल्ला वर्षहरूमा बजारको समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने र पहिले नै अर्डर गर्ने हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ ।”

सुन्तलाको बजारीकरणमा समस्या नभएको र उत्पादन बढेको कारण राम्रो आम्दानी भएको उहाँको भनाइ छ । बबकका १९ घरपरिवारले लगाएका सुन्तला बिक्रीका लागि आफूले सङ्कलन गरी व्यापारिक केन्द्रमा पुर्‍याउने गरेको राना बताउनुहुन्छ । आफ्नै बगैँचाबाट सुन्तला बिक्री गर्दा गत वर्षभन्दा राम्रो मूल्य किसानले प्राप्त गरेको उहाँको भनाइ छ । सुन्तलाको ग्रेड अनुसार प्रतिकेजी १०५, ९५ र ७० मा यस वर्ष बिक्री गरेको उहाँको भनाइ छ ।

बबक कृषि तथा पशुपालन फार्म दर्ता गरी करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तला खेती गरेका रानाको परिवारले यस वर्ष सुन्तलाबाट करिब पन्ध्र लाख आम्दानी भएको बताउँछन् । तीन सय २० सुन्तलाका बोट रोपेका रानाका परिवारले पनि उत्पादन भएको सुन्तलाको बजारीकरणमा समस्या झेल्नुपरेको छैन ।

ूगत असोजमै चितवनका व्यवसायीले घरमै आएर सुन्तलाको पेस्की रकम दिएर ठेक्का लिएका थिए, अहिले बोटबाटै सुन्तला बिक्री भइरहेको छ, अघिल्लो वर्षको तुलनामा उत्पादन पनि बढेको छ,ू रानाले भन्नुभयो । धान, कोदो, गहुँ लगायतका खाद्य बाली लगाउँदा आम्दानी नहुने र काम गर्नसमेत झन्झट हुने भएपनि सुन्तला खेती सुरु गरेपछि भने आफूहरूलाई आम्दानी र कृषि खेती गर्नसमेत सहज भएको उहाँले बताउनुभयो ।

अर्का किसान मान बहादुर रानालाई यस पटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । केही वर्षअघिसम्म सुन्तलाको बजार खोज्दै धाउनुपर्ने बबकका किसान व्यापारीले बगैँचाबाटै मूल्य गरी सुन्तला खरिद गर्दा खुसी छन् । दसैँदेखि अहिलेसम्म सुन्तला बिक्री गरिसकेका छौँ अब केही मात्र बाँकी रहेको उहाँले बताउनुभयो ।

व्यापारीको माग अनुसार स्थानीय रूपमा सुन्तला सङ्कलन गरी गाडीमा राखेर कावासोती, नारायणगढका बजारसम्म पुर्‍याउने गरेको प्रताप रानाले बताउनुभयो । खाद्यबाली लगाउँदा नियमित सिँचाइको अभावसँगै खेतीबाली लगाउने र गोडमेलमा लाग्ने कामदारको लगानी अनुसारको प्रतिफल नआउने भएपनि सुन्तला खेतीबाट सन्तुष्ट बनेको रानाले बताउनुभयो ।

गत वर्ष एक हजार २० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको बौदीकाली, बुलिङटार, गैँडाकोटको पहाडी क्षेत्रमा करिब सात सय हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूल खेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि परियोजनाले व्यवसायीक खेतीका लागि ५० प्रतिशत अनुदान दिँदै आएको छ । साभार : गोरखापत्रबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%११%४%५%१%१%

प्रतिक्रिया दिनुहोस