२०८२ श्रावण ११, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आँखा पाक्ने रोग बढ्दै

२०८० श्रावण २२, सोमबार प्रकाशित ( साल अघि) ७८६ पाठक संख्या

मीना कंडेल

कावासोती । नवलपुरमा पछिल्लो केही दिन यता बालबालिकादेखि वृद्धवृद्धामा आँखा पाक्ने रोग फैलिएको छ । आँखामा सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालमा बिरामीहरूको चाप बढेको छ ।

जिल्लाका सबै सरकारी तथा निजी अस्पतालमा दैनिक दुई सय सम्म आँखाका बिरामी देखा पर्ने गरेको अस्पतालको तथ्याङ्क छ । केही दिनदेखि फैलिएको यस समस्याले विद्यालयका विद्यार्थीहरूलाई समेत प्रभाव पारेको छ । अहिले विद्यालयमा अध्ययनरत अधिकांश बालबालिकामा आँखा पाक्ने समस्या देखिएको र विद्यार्थीको पढाइलाई समेत असर पुर्‍याएको छ ।

दैनिक रूपमा आँखा पाक्ने समस्या भएपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या क्रमिक रूपमा घट्दै गएको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले बताउनुभयो। जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले आँखाको समस्या दिनदिनै बढ्दै गएकोले आँखाका बिरामीले सामान्य चेकजाँचपछि घरमै बसेर उपचार गर्न सकिने हुँदा सङ्क्रमितका बिरामी भिडभाडमा नजाने अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “साना उमेरका बालबालिकामा अझै बढी समस्या छ यो सरुवा रोग भएकोले बालबालिकालाई विद्यालयबाट नै सर्ने हुँदा सङ्क्रमित बालबालिकालाई विद्यालय नपठाउने र सामान्य औषधिको प्रयोग गरी सचेत रहनुपर्छ ।”

मौसम परिवर्तनसँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिएको भाइरल प्रकोपले धेरैलाई प्रभावित बनाएको मध्येबिन्दु जिल्ला अस्पतालका डा कमलराज न्यौपानेले बताउनुहुन्छ । सोमबार मात्र आँखाका एक सय बिरामी अस्पताल आएको उहाँले बताउनुभयो । यस्तै, देवचुलीको दुम्कौली अस्पतालमा दैनिक ३० देखि ४० आँखा पाकेका बिरामी आउने गरेको अस्पतालमा कार्यरत डा। राजीव सापकोटाले जानकारी दिनुभयो ।

आँखा पाक्ने समस्या एडिनो भाइरल कन्ज्क्टिभाईटिसका बिरामी बढ्दै गएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । आँखाको समस्याले विकराल रूप लिनसक्ने भन्दै समयमै यसको रोकथामको लागि सबै लाग्नु पर्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले अहिले फैलिएको डेंगु र आँखाका समस्या रहेकोले बजारमा सिटामोल र आँखाको ड्रप अभाव हुन नदिन सबै पालिकाका स्वास्थ्य कार्यालय स्वास्थ्य चौकीहरूलाई सचेत रहनु पर्नै बताउनुभयो ।

जिल्ला अस्पतालमा अहिले डेंगुका करिब २० जना बिरामीले उपचार गरिरहेको र आँखाका बिरामी समेत दैनिक ५० जना उपचारमा आउने गरेको बताइएको छ । यही अनुपातमा बिरामीको सङ्ख्या बढ्दै गए जिल्लामा औषधिको समेत अभाव हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस