२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

कांग्रेस चितवनमा समिकरण बदलिँदै, देउवा र पौडेल पक्ष एक हुँदै

२०७८ फागुन ९, सोमबार प्रकाशित ( साल अघि) १०११ पाठक संख्या

मधुसूदन दवाडी

चितवन, फागुन ९–

नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन नजिकिँदै छ । अधिवेशनको संघारमा नेतृत्वका आकांक्षीहरुको चुनावी घरदैलो र भेटघाट बाक्लिएको छ । पटकपटक सर्दै आएको अधिवेशन यसपटक हुने निश्चित भएपछि उम्मेदवारहरु आफ्नो पक्षमा माहोल बनाउन अन्तिम कसरतमा लागेका छन् । यसअघि विभिन्न समिकरणमा घरदैलो गरेका उम्मेदवारहरु यसपटक पुरानो समिकरण तोड्दै नयाँ समिकरण गरिरहेका छन् ।

केन्द्रमा नेता शेखर कोइराला पक्षलाई सभापति शेरबहादुर देउवा पक्षले पराजित गर्दा पार्टीभित्र जे समीकरण बनेको थियो सोही समीकरणको प्रत्यक्ष प्रभाव चितवनमा पनि देखिन थालेको छ । कांग्रेस चितवनको अधिवेशन केन्द्रीय अधिवेशनअगाडि जे परिदृश्य र सम्भावनाहरु देखिएका थिए ती सबैमा अहिले ठूलो उथलपुथल आउने सम्भावना देखिएको कांग्रेस नेताहरुले बताएका छन् । राजनीति सम्भावनाको खेल हो भने जस्तै कांग्रेस राजनीतिमा पनि जीत र हारको सम्भावनामा नयाँ खालका तर्क र विश्लेषणहरु सतहमा आएका छन् ।

नारायणी अनलाइनले चितवनका कांग्रेस निकट बुद्धिजीवी, आम मतदाता र जिल्ला नेतृत्वका केही आकांक्षीहरुसँग कुराकानी गर्दा पछिल्लो समयमा निर्वाचनको समीकरण एकाएक बदलिएर देउवा र पौडेल पक्ष एकआपसमा मिलेर कोइराला पक्षसँग चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेको बताउँछन् । यसको स्पष्ट तस्बिर भने फागुन १४ गते मनोनयनको दिनसम्म आइसक्ने कांग्रेस नेताहरुको दाबी छ । अहिले जिल्ला तहका नेतादेखि तलका कार्यकर्तासम्म को कता भनेर स्पष्ट खुलेर बोलेका छैनन् भने समाचारमा पनि नाम उल्लेख गर्न चाहेका छैनन् ।

चितवनमा सभापति पदका लागि ६ जनाले जिल्ला नेतृत्वको लागि आकांक्षा देखाएका छन् । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरेले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन्।

कांग्रेसको क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका छन् । घिमिरे र भुसाल रामचन्द्र पौडेल पक्षकारुपमा चिनिन्छन् भने श्रेष्ठ शेरबहादुर देउवा पक्षको रुपमा आफ्नो पहिचान बनाएका छन् । त्यस्तै अन्य तीन आकांक्षीमा जोशी, खनाल र कोइराला शेखर कोइराला पक्षको रुपमा चिनिएका छन् ।

केन्द्रीय समितिको निर्वाचनपछि केन्द्रमा देउवा र पौडेल पक्ष नजिकिँदै गएकोले चितवमा पनि देउवा र पौडेल पक्षको चुनावी एकता हुने सम्भावना प्रवल देखिएको छ । अहिल केन्द्रमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कृष्ण सिटौंला तिनै जना देउवासँग निकट भएकोले त्यसको प्रत्यक्ष असर चितवनमा देखिन लागेको हो । यसअघि कांग्रेसका केन्द्रीय प्रवक्ता प्रकाशशरण महत चितवनमा अनुगमनमा आउँदा सिधै पौडेल पक्षका नेताहरुसँग भेटघाट गर्नुले पनि दुई खेमाबीचको एकीकरण अगाडि बढेको संकेत गर्ने कांग्रेस निकट बुद्धिजीवीले नारायणी अनलाइनलाई बताए ।

पौडेल पक्ष पनि मिसिएको खण्डमा चितवनमा निकै कमजोर रहेको देउवा समूह बलियो बन्ने देखिन्छ । कोइराला समूहका सबै आकांक्षी एक भएमा भने उनीहरु देउवा समूह भन्दा बलियो बन्ने आकलन छ । चितवनमा आकांक्षी धेरै भएका कारणले पहिलो चरणमा सभापति चयन हुने सम्भावना कम छ । चितवन राजनीतिक केन्द्र भएका कारणले गर्दा पनि यहाँको जिल्ला नेतृत्वको लागि केन्द्रीय नेताहरुको पनि हस्तक्षेप हुने गरेको इतिहास छ । यसपटकको जिल्ला अधिवेशनमा पनि त्यस्तै घटनाक्रमहरु दोहोरिन सक्ने भन्दै नेता र कार्यकर्ताहरुले सचेत गराउँदै आइरहेका छन् ।

कांग्रेस चितवनले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ । जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो । पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको देखिन्छ ।

जिल्ला समिति सभापतिसहित ५० जनाको हुनेछ । जिल्लामा तीन क्षेत्र छ । देशमानै क्रियाशील सदस्य बढी भएको जिल्लामध्येमा चितवन पर्दछ । यसअघि अधिवेशन हुने भनिए पनि कहिले एमालेको केन्द्रीय अधिवेशनको कारणले त कहिले कोरोना त कहिले विभिन्न कारण देखाउँदै निर्वाचन अधिकृतले राजीनामा दिएपछि निर्वाचन हुनसकेको थिएन । कांग्रेस चितवनको अधिवेशनको तालिकाअनुसार फागुन १४ गते उम्मेद्वारी मनोनयन पत्र दर्ता र १५ गते मतदान हुने जनाइएको छ । जिल्ला अधिवेशन भरतपुरस्थित चितवन मिड टाउन रिसोर्टमा हुने भएको छ ।

यसै जिल्लाबाट नेपाली कांग्रेसको स्थापनापछि पहिलो पटक पाँच जनाले केन्द्रीय सदस्यमा निर्वाचित हुने अवसर प्राप्त गरेका छन् । यसअघि जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुन कोही सकेका थिएनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस