२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको नारायणी नदीकिनारमा ६५ लाख लागतमा भ्युटावर बन्दै

२०७८ जेष्ठ १७, सोमबार प्रकाशित ( साल अघि) ३५८७ पाठक संख्या

नवलपुर, १७ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ मा रु ६५ लाखको लागतमा भ्युटावर निर्माण शुरु गरिएको छ ।

मध्यविन्दु–३ ब्रह्मस्थानमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न यहाँको वनभोज स्थलमा भ्युटावर निर्माण शुरु गरिएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताए ।

“अहिले भ्युटावर निर्माण शुरु गरिएको यो ठाउँ नारायणी नदीसँगै जोडिएको छ” नगरप्रमुख रानाले भने, “नारायणी नदीको पारीपट्टि चितवन राष्ट्रिय निकुञ्ज छ, भ्युटावर निर्माण शुरु गरिएको ठाउँबाट दुर्लभ वन्यजन्तु गैँडा, सङ्कटापन्न अवस्थाको घडियाल गोही सहज रुपमा देख्न सकिन्छ ।

” प्राकृतिक रुपमा समेत रमणीय रहेकाले ब्रह्मस्थानमा भ्युटावर निर्माणको काम अगाडि बढाइएको नगरप्रमुख रानाले बताए । नगरपालिकाको वडा नम्बर २, ३, ४, ६ र १२ मा होमस्टे (घरबाट) रहेकाले घरबाससँगै यहाँको पर्यटन प्रवद्र्धनका लागि भ्युटावर बनाउन शुरु गरिएको रानाको भनाइ छ ।

“ब्रह्मस्थानमा निर्माण शुरु गरिएको भ्यूटावरको माटो परीक्षण तथा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न नगरपालिकाको पाँच लाख रुपैयाँ खर्च भएको छ” नगरप्रमुख रानाले भने, “अहिले गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको १० लाख रुपैयाँमा काम शुरु गरेका छौँ, आवश्यक पर्ने बाँकी रकम आगामी आर्थिक वर्षमा जुटाउने छौँ ।” आगामी आर्थिक वर्ष २०७८/७९ मा भ्युटावर निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको रानाले बताए ।

नगरपालिकाले ब्रह्मस्थानसहित वडा नम्बर १४ को दुई स्थानमा समेत भ्युटावर निर्माणका लागि काम अगाडि बढाएको उनको भनाइ छ ।

उपभोक्ता समिति निर्माण गरेर ब्रह्मस्थानमा भ्युटावर निर्माणको काम अगाडि बढाइएको हो । भ्युटावर निर्माण उपभोक्ता समितिका सहसचिव सुवाष नेपालले निर्माणाधीन भ्युटावरको सबै संरचना तयार पार्दा करिब १० कठ्ठा क्षेत्रफल ओगट्नेबताए । ४५ फिट अग्लो हुने उक्त भ्युटावर चार तल्लाको हुने उनको भनाइ छ । भ्युटावरबाट एकैपटक ३५ जना व्यक्तिले यहाँको दृश्यावलोकन गर्न सक्ने बताइएको छ ।

भ्युटावर निर्माणस्थल चितवन राष्ट्रिय निकुञ्जको नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिमा पर्दछ । यस स्थानमा निकुञ्जबाट निस्किएका गैँडा, बँदेललगायतका जनावरले कृषकहरुले लगाएको अन्नबाली खाएर नष्ट गरिदिँदा वन्यजन्तुप्रति उनीहरुको दृष्टिकोण फरक भएकाले समेत स्थानीयलाई संरक्षणमा सहभागी गराउनका लागि भ्युटावर निर्माणको काम अगाडि बढाइएको सहसचिव नेपालको भनाइ छ ।

वन्यजन्तुको आक्रमण तथा नारायणी नदीको कटानका कारण यस गाउँबाट धेरै घरपरिवार विस्थापित भइसकेका छन् । -रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%९%४%१%५%

प्रतिक्रिया दिनुहोस