२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा हिलाम्मे सडकले सास्ती : ठेकेदारले काममा ढिलासुस्ती गरेको गुनासो

२०७८ जेष्ठ ९, आईतबार प्रकाशित ( साल अघि) १६५६ पाठक संख्या

विकास अधिकारी

जेठ ९ ,परासी । पश्चिम नवलपरासीको नारायण चोक देखि त्रिवेणी सम्म निर्माणाधिन हुलाकी सडकका कारण सर्वसाधारले सास्ती पाएका छन् ।

घाम लाग्दा धुलाम्मे सडकमा, पानी परेपछि हिलाम्मे भएको छ । सवारी साधन सडकमै फसेका छन् भने एक घर देखि अर्को घर सम्म जान पनि नसक्ने अवस्था सृजना भएको सुस्ताबाट सन्तोष पाठकले रेडियो परासीलाई जानकारी दिनुभयो ।

ठेकेदारले काममा ढिलाई गर्दा वर्षायाम सुरु हुन लाग्दा समेत सडकको बेहाल रहेको उहाँको भनाई छ ।

सडकमा अहिले माटो फिलिङ्गको काम भईरहेको छ तर सडक विस्तारको जिम्मा पाएको बज्र महालक्ष्मि जेभिले कामलाई गति दिन सकेको छैन् ।

जसका कारण सर्वसाधारणले घाम लागे धुलो र पानी पर्ने वित्तिकै हिलोको सास्ती भोग्नुपरेको छ । अहिले सुस्ताको कुडियादेखि माथिल्लो क्षेत्रमा सवारी साधन बाटोमै फसेका छन् भने हिलाम्मे सडकका कारण हिडडुंल गर्न पनि कठिन भएको छ ।

२०७६ सालको मंसिरमा ठेक्का सम्झौता भएको नारायण चोकदेखि त्रिवेणी सम्मको १६ किलोमिटर सडक निर्माणको हाल सम्म १७ प्रतिशत मात्र भौतिक प्रगति छ ।

हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका ईन्जिनियर शरद आचार्यले भने कोरोना महामारीका कारण काममा केहि ढिलाई भएपनि काम भईरहेको रेडियो परासीलाई बताउनुभयो ।

कल्र्भट निर्माण भईरहेकाले डाईर्भसनबाट सवारी आउजाउ गर्न पानी पर्ने वित्तिकै समस्या भएको बताउँदै उहाँले वर्षायाम अगावै कल्र्भटको काम सक्ने योजना रहेको जानकारी दिनुभयो ।

ठेकेदार कम्पनीले भने निरन्तर निर्माण समाग्रिको अभावका कारण काम गर्न समस्या भएको बताउदै आएको छ । स्थानिय तहले सडक निर्माणका लागी सहजिकरण नगर्दा समस्या भएको बज्र महालक्ष्मिका प्रतिनिधि प्रदिप कार्किले बताउनुभयो ।

पश्चिम नवलपरासीमा विभिन्न ३ खण्डमा विभाजन गरेर हुलाकी सडकको निर्माण कार्य जारी छ । त्यसमध्ये सदरमुकाम परासी देखि नारायणचोक जोड्ने सडकको काम अन्तिम चरणमा छ ।

यहि असार मसान्त भित्र सक्ने योजना रहेको कार्यालयले जनाएको छ । ८० प्रतिशत काम सकिएको १२ किलोमिटर लामो सो सडकमा कालोपत्रेको काम भईरहेको छ ।

परासी–नारायणचोक जोड्ने सडकको निर्माण कार्य तिव्र रुपमा हुन नसक्दा आउजाउ गर्न निकै कठिन हुने गरेको थियो । पानी पर्ने वित्तिकै हिलाम्मे र घाम लाग्ने वित्तिकै धुलाम्मे हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । हुलाकी सडकलाई कृषि पर्यटन र उद्योग क्षेत्र विकासको मेरुदण्डको रुपमा लिने गरिन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस