२०७९ मंसिर ११, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीका महिलाहरु सामूहिक तरकारी खेतीतर्फ

२०७८ बैशाख ३, शुक्रबार प्रकाशित ( साल अघि) २२४९ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका –३ सृजनशील टोलका महिलाहरुले सामूहिक अर्गानिक तरकारी खेतीबाट राम्रो आम्दानी लिन सफल भएका छन् ।

सृजनशील अर्गानिक कृषक महिला समूह गठन गरेर यहाँका २२ जना महिलाहरुले सामूहिक अर्गानिक तरकारी खेती शुरु गरेका थिए।

बजार क्षेत्र भए पनि पछि परेको र विपन्न समुदायको बसोबास रहेको यहाँका महिलाहरुले सात दिनको अर्गानिक तरकारी खेतीको तालिम लिएर, उक्त तालिमको सदुपयोग गर्दै संगठित भएर सामूहिक तरकारी खेती शुरुआत गरेका हुन् । टोलमा त्यसै बाँझो रहेको दुइ विघा जग्गा ठेक्का लिएर खेती शुरु गरेका महिलाहरुले अहिले राम्रो आम्दानी लिन थालेका छन् ।

घरधन्दामै सीमित रहने महिलाहरुले फुर्सदको समयलाई उपयोग गर्दै तरकारी खेती गरेर आम्दानी लिन थालेपछि समुदायले हेर्ने दृष्टिकोणसमेत फरक भएको उनीहरु बताउछन् ।

खेती सुरु नगर्दासम्म बजारबाट तरकारी किनेर खाने महिलाहरु एकाएक अर्गानिक तरकारी उत्पादनमा लाग्नुको कारण भने योग हो।

गाउँमा जीवन विज्ञान प्रयोगशाला नामक संस्था मार्फत् योग शिविर सञ्चालन गरिएको थियो । उक्त योग शिविरमा महिलाहरु पनि सहभागी भए । सृजनशील अर्गानिक कृषक महिला समूहकी अध्यक्ष गंगा चुहान भन्नुहुुन्छ – ‘योग गर्दा शरीर एकदमै फुर्तिलो हुने, काम गर्ने जाँगर बढ्ने केही गर्नुपर्छ भन्ने हौसला बढ्ने रहेछ । योगमा नै हामिले विषादी मिसाएको तरकारीले शरीरलाई धेरै असर पुग्ने रहेछ भन्ने थाहा पायौँ । त्यसपछि हामीले अर्गानिक तरकारी खेती गर्ने सोच बनाएका हाँै ।’

कावासोतीस्थित कुमारी निजी गूठीसँग समन्वय गरेर महिलाहरुले सात दिनको अर्गानिक तरकारी खेती तालिम लिएका हुन् । सोही सात दिनको तालिमले नै महिलाहरु अहिले खेतमा लटरम्म तरकारी फलाउन सफल भएका छन् । तालिम लिदालिदै नर्सरी तयार गरी सबै कुराको व्यवस्थापन गरेर खेतीको शुरुआत गरेको अध्यक्ष चुहानले बताउनुभयो । महिलाहरुले १५/१५ हजार रुपिया संकलन गरेर सुरुमा खेतीमा लगानी गरेको थिए ।

अहिले खेतमा फर्सीको मुन्टा, फर्सी, लौका, करेला, घिराैँला, भिन्डी, बोडी, काँक्रा, टमाटर फलाएका छन् । तरकारीमा मल, भिटामिन र विषादी सबै अर्गानिक नै प्रयोग गर्ने गरेको चुहानको भानाइ छ । मलका लागि गाईभैँसी र बाख्राको प्रयोग गर्दै आएका छन् भने, अर्गानिक विषादी आफैले तयार गरेर प्रयोग गर्दै आएको चुहानले बताउनुभयो ।

अर्गानिक विषादीका लागि रैथाने जातको गाईको गहुँतमा घर वरपर र जंगलमा पाइने जडीबुटी जस्तै असुरो, पाती, घिउकुमारी, बनमारा, बोजो, अमिलोको पात, पतेना, नीमपत्ता सूर्ती, खुर्सानी, चुना लगायतका सामग्री मिलाएर तयार गर्ने गरेको चुहानले जानकारी दिनुभयो । अर्गानिक विषादी एक महिनामा तयार हुन्छ ।

यस्तै भिटामिनका लागि गँड्यौलाको जुस प्रयाग गरेको चुहानले बताउनुभयो । गँड्यौलाको जुस तयार गर्ने विधि महिलाहरुले तालिमबाट भने सिकेका होइनन । युटुबमा धरानका एकजना किसानले राखेको विधि हेरर नै जुस बनाउन सिकेको चुहानको भनाइ छ । गँड्यौलाको जुसले तरकारी फस्टाउन मदत पुग्छ । एक हप्तामा २० लिटर जुस तयार हुन्छ त्यसमा पानी मिसाएर स्प्रे मार्फत तरकारीमा राख्ने गरेको चुहानले बताउनुभयो ।

हिजोका दिनमा काम नगरि बस्दा घरखर्च चलाउन पनि समस्या हुने, श्रीमानको भर पर्नुपर्ने महिलाहरुलाई अहिले आफैँ आम्दानी लिन थालेपछि अरुसंग हात थाप्न पर्दैन् । तरकारी खेतीबाट भएको आम्दानी समूहमा बचत गर्ने गरेको समूहकी सदस्य अमृता गुरौले बताउनुभयो ।
समूहमा बचत गरेको पैसा समूहका सदस्यहरुले आवश्यकता अनुसार सहूलियत ब्याजदरमा लिने गरेको र बाँकी रहेको पैसा लगानी लगाउने गरिएको उहाँले बताउनुभयो । एक सिजनमा डेढदेखि २ लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

सुरुका दिनमा समूहका महिलाहरु आफैँले बजारमा गएर तरकारी बिक्री गर्ने गरेका थिए । तर, अहिले ग्राहक बारीमै आएर तरकारी खरिद गरेर लैजाने गरेको अर्की सदस्य गंगा बिकले जानकारी दिनुभयो । सुरुआत गर्दा पानीको समस्या थियो ।

वडाबाट बोरिङ्का लागि बजेट विनियोजन भएर बोरिङमर्फत पानी निकालिएको छ भने,कृषि ज्ञान केन्द्र तनहुँबाट पाँच लाख अनुदान प्राप्त गरेर थोपा सिचाईंको व्यवस्थापन गरेपछि सहज भएको र उत्पादनमा समेत बृद्धि भएको बिकले बताउनुभयो । यो खबर आजको गोरखापत्र अनलाइनमा कावासोतीबाट ज्ञानु पंगेनीले लेख्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%३%१०%२%२%

प्रतिक्रिया दिनुहोस