२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

तनहुँको धुरी छिम्केश्वरीमा भक्तजन बढ्दै

२०७७ फागुन २५, मंगलबार प्रकाशित ( साल अघि) १५८९ पाठक संख्या
दमौली, २५ फागुन : तनहुँको सबैभन्दा अग्लो स्थानको छिम्केश्वरी माई मन्दिर दर्शन गर्ने भक्तजन बढ्न थालेका छन् । कोरोनाले सुस्ताएको सो मन्दिरमा यतिबेला दैनिक भक्तजनको उपस्थिति बाक्ँिलदै गएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित मन्दिर समुन्द्र सतहबाट दुई हजार १३४ मिटरको उचाइमा अवस्थित छ ।

गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामनाकी दिदीका रुपमा परापूर्वकालदेखि पुजिँदै आएको छिम्केश्वरीमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वासका कारण यसको गरिमा र महत्व बढाएको छ ।

सात देवीमध्ये जेठी बूढीदेवी, माइली छिम्केश्वरी, साइली गोरखकाली, काँइली मनकामना, अन्तरी इच्छाकामना, जन्तरी अन्नपूर्र्णा र कान्छी अकला माईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । त्यहाँबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायत हिमाल देखिन्छ ।

कोभिडले एक वर्ष सुनसान बनेको छिम्केश्वरीमा पछिल्ला दिनमा भने दर्शनार्थीको बाक्लो उपस्थिति रहने गरेको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए । “अहिले शनिबार र बिदाको दिनमा त दैनिक दुई-तीन सय जनासम्म भक्तजन आइरहेका छन्”, गुरुङले भने, “बाटो पनि सहज भएकाले अन्य दिनमा पनि भक्तजनको उल्लेख्य उपस्थिति छ ।” अहिले चहलपहल ह्वात्तै बढेको वडाध्यक्ष गुरुङले थपे ।

मन्दिरका पुजारी धनराज गुरुङले छिम्केश्वरीमा प्रत्येक वर्षको फागुपूर्णिमा र वैशाख १ गते विशेष मेला लाग्ने बताए । गाउँपालिकाले मन्दिरको पुनः निर्माण पनि गरिरहेको छ । डाँडामा खानेपानीको स्रोत नभएकाले प्लाष्टिक पोखरीमा पानी सङ्कलन गरेर गत वर्षदेखि मन्दिर पुनः निर्माणको काम भइरहेको छ । गाउँपालिकाले मन्दिर पुनः निर्माण गर्न गत आर्थिक वर्षमा रु ३० लाख लगानी गरेको थियो भने चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले गाउँपालिकाभित्रका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्न गाउँपालिकाले पहल गरिरहेको जानकारी दिए । छिम्केश्वरी, आँधिमूललगायत ठाउँको प्रचारप्रसारका लागि गाउँपालिकाले काम गरिरहेको छ ।

छिम्केश्वरी मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५-७६ मा रु ४१ लाख ६३ हजार ७०६ को लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण गरिएको छ । आर्थिक वर्ष ०७६-७७ मा रु ३५ लाख ९९ हजार १४१ को लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण गरिएको छ ।

छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तिलबहादुर गुरुङले सिँढी निर्माण भएसँगै मन्दिर दर्शन गर्न जाने भक्तजनलाई सहज भएको जानकारी दिए । पैदलमार्ग र रेलिङ निर्माणका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत रु ६० लाख ८५ हजार ९५६ लगानी भएको छ । स्थानीयवासीले रु १५ लाख ७४ हजार ८९० बराबरको जनश्रमदान गरेका थिए । सवारी साधनको अन्तिम विन्दुदेखि करीब २५ मिनेटको पैदलयात्रामा मन्दिर पुग्न सकिन्छ । बाटो विस्तार नहुँदा दुई घण्टाको पैदलयात्रापछि मन्दिरसम्म पुगिन्थ्यो ।

प्रदेश सरकारकै लगानीमा आँबुखैरेनीदेखि छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्रको काम गत वर्षदेखि शुरु भएको छ । कोभिडले केही समय रोकिएको सडकको कामले अहिले गति लिएको छ ।

प्रदेश सरकारको रु ३० करोड लागतमा सडक कालोपत्रका लागि काठमाडौँस्थित शर्मा एन्ड काष्ठमण्डप जेभीले ठेक्का पाएको छ । उक्त सडकको १६ किलोमिटर खण्ड तीन वर्षमा कालोपत्र सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता गरिएको छ । उक्त खण्डमा ४.२५ मिटर चौडाइ कालोपत्र र एक मिटर नालासहित सात मिटर चौडाइको सडक हुनेछ । छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्र भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा अझ वृद्धि हुने विश्वास गरिएको छ ।

छिम्केश्वरी पुग्ने भक्तजनको सजिलोका लागि छिम्केश्वरीको काखमा घरवाससमेत सञ्चालनमा छ । पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले केही वर्ष अगाडिदेखि घरवास सञ्चालन गर्दै आएका छन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरवासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरवास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिए । हिलेखर्कका दुईवटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।

त्यस्तै लाब्दी गाउँमा पनि घरवास सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि लाब्दी भोटेश्वारा सामुदायिक घरवास व्यवस्थापन समिति गठन गरिएको छ । त्यहाँका १३ घरमा घरवास सञ्चालनको तयारी गरिएको समितिका अध्यक्ष देवीलाल गुरुङले जानकारी दिए ।-रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस