२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

भगवान आफैं भन्नू भो – मलाई जपेर मात्रै स्वस्थ भइने हो र 

२०७८ पौष १२, सोमबार प्रकाशित ( साल अघि) १३२० पाठक संख्या
डा•मित्र पाठक “काँचुली”
देवचुली । एक जना गाउँले पन्डित जी हुनुहुन्थ्यो । जिन्दगीभर आफूलाई भगवानको सेवक हुँ पनि भन्नुहुन्थ्यो । पन्डित्याइ गरेरै जिन्दगी कटाउनु पर्ने वाध्यता थियो सायद त्यही भएर पनि पूजा पाठ उहाँको दैनिकी हुन्थ्यो र जिबिकोकै सवाल भएर होला आम  हामी अरु पेशाका मानिस झैँ थोरै लोभ हुने नै भो ।
लोभी हुनु मानवीय गुण हो तर धेरै लोभि भइयो भने कता बाट प्वाल पर्छ पत्तै हुदैन । तर उहाँमा एउटा दम्भ थियो घमण्ड थियो र आफू मात्रै भगवानको सेवक भएको भ्रम पनि । उहाँ अरुलाइ कहिले काहीं व्यंग्य पनि गर्नु हुन्थ्यो – “समस्या परे पछि मात्रै भगवान सम्झने हैन के” भनेर ! बिहानै उठे देखि छिमेकीले सुन्ने गरेर भगवानको नाम जप्नु हुन्थ्यो, मिल्यो सम्भव भएसम्म भजन किर्तन रेडियो टिभीमा पनि चर्काउनु हुन्थ्यो ।
यसले कहिले काहीं ढिलो गरेर सुत्ने वा अबेरसम्म पढ्ने विद्यार्थीहरुको विहानको निद्रा खल्बलिन्थ्यो । यो मानेमा भगवान खुसी पार्ने निउमा छिमेकीको चित्त पनि दुखाउनुहुन्थ्यो । यो मानेमा अल्पज्ञानले काम गर्यो कि जस्तो लाग्छ – अरुलाइ हानी पुर्याउदा आफ्नो सौख पूरा गर्दा अरुको कुभलो हुँदा भगवान खुसी हुनुहुदैन भन्ने बुझ्नु भएन कि जस्तो लाग्छ । भगवान गीताका, पुराणहरुका अनगिन्ती उदाहरणहरु दिनुहुन्थ्यो पूजा, पाठ र धार्मिक सभा सम्मेलनहरुमा मानव हित र अध्यात्मले भरिपूर्ण जीवन जिउने तरिकाहरुको बारेमा ।
यति सम्मकी अरुको घरमा पूजा पाठ गर्दा चोखी निस्ठ रहने नाममा उहाँले अधिकाँस  ठाउँमा पानी समेत खानुहुन्थेन । कहिले पानी मात्रै खाने, कहिले दूध मात्रै। कहिलेकाहीँ त दिनभर आगोको छेऊमा बस्नुहुन्थ्यो त्यो पानी पनि पिउन बिर्सेर । नतिजा देखिन अल्लि समय लाग्यो तर उहाँको मनले हरि जपिरहदा रहदै पनि, मन स्वस्थ हुँदा हुँदै पनि तनले भने विभिन्न रोगका लक्षण देखाउन थाली सकेका थिए । फलतः उहाँ एक दिन नराम्रोसंग रोगले गाजिनु भयो । मृगौलामा समस्या देखियो, सुगर भयो, प्रेसर भयो अनेक भयो । शरिरले थेग्न छोडेपछि छ दशकको उमेर नपुग्दै एक दिन उहाँको इहलिला समाप्त भयो ।
नजिकै भएर पनि होला बिरामी भएपछि पनि उहाँ संग बारम्बार भेट भै रहन्थ्यो । गफै गफमा एक दिन उहाँले (सपनामा होला) भगवानले दर्शन दिएको कुरा  भन्नुहुन्थ्यो । त्यो दिन भगवानले राम्रै सम्झाउनु भो रे उहाँलाई – सम्झाउनु भएछ – हेर बाबू ! तैले गरेको श्रद्धाबाट म नतमस्तक छु, बहुत प्रसन्न छु तर तेरो आफ्नो स्वास्थ्यको ख्याल तँ आफै गर्नुपर्थ्यो । मैले त केवल तलाइ सत्मार्गमा हिडाँए, हरि नाम जप्न प्रेरित गरेँ, तेरो मनको कलुशित भावनाको दमन गराउन सहयोग गरेँ ।  के खाने? कतिबेला खाने ? शरीरलाई के खादा फाइदा गर्छ के खादा बेफाइदा गर्छ,खानपिन बाहेक ब्यायाम लगायात शरिरका अरु आवश्यकता के हुन् ? त्यो आफू स्वयंले जान्ने कुरा हुन् । तैले अरुलाइ देखाउने नाममा अल्लि बढी आशक्ती देखाइस कि जस्तो लाग्छ, यो राम्रो हैन । मलाइ त कर्ममा तल्लिन हुदै  दु:ख सुखमा सम्झिए मात्रै पुग्छ । जति बाँच्चस  यो कुरा तेरा भक्तजनहरुलाई बुझाएर छाड ल !”
यति भनेर उहाँ आँखामा आँसु लिएर टोलाउन थाल्नु भएको थियो । आह ! कस्तो राम्रो कुरा दिएर जानू भएको रहेछ भगवानले, म मन मनले गद गद भएको थिएँ । अर्का एक जना अध्यात्मी पनि मिठो प्रवचन दिदा दिदै आफैं रोगी भएर जानू भो हालसालै ।
यी त केही दृष्टान्त मात्रै हुन् धर्म कर्ममा लाग्नेहरु धेरैले आवस्यकता भन्दा बढी गर्ने, खानपिन दैनिकी र आफ्नो स्वास्थ्यमा हेलचेक्र्याइ गर्नाले आज अकालमै ज्यान फाल्ने क्रम जारी छ । धर्म कर्म मन सुद्दीको बाटो हो । जसरी मन सुद्दी गरिन्छ त्यसरी नै तन शुद्धिकरणको खाँचो हरेक दिन परिरहन्छ । “जे सोच्यो त्यो पाइन्छ, सद्बुद्दी चाहिन्छ” भने झैं भगवानको र पितृ हरुको हरेक बिहान र साँझ सम्झना मात्रै गरियो भने पनि उहाँहरुले दिने आशिर्वादमा कत्ती पनि कमि चाहिँ हुँदैन ।
देखासिखी र तडक भडकमा अकुत सम्पतिको प्रयोग गरि ढोँगी बनेर धर्म कर्म दान र चन्दामा ब्यस्त भएर सामाजिक संजालमा पोखिए  पनि मनको शान्ती नमिल्न सक्छ न त यस्ता देखावटी कुराले भगवान नै प्रसन्न होलान  । सबैको भलो सोचियो भने, म भन्दा गरिब र हुँदा मात्रै खानेहरु पनि यो समाजमा प्रशस्तै छन् भन्ने हेक्का राखियो भने, अफ्ट्यारो पर्दा अघि सरियो भने, लिन, अरुको धुत्न भन्दा दिन मन लाग्न थाल्यो भने भगवान र पितृका  आशीर्वादले नसोचेको फल प्राप्त हुन्छ नै यसमा दुई मत नै नहोला सायद । लोभ घटेर यस्तै दया भाव जाग्न थालेको छ भने बुझ्नुहोस तपाईं सतमार्गमा हुनुहुन्छ र भगवान सदा प्रसन्न हुनुहुन्छ हैन भने घर परिवार , आफू कार्यरत कार्यस्थल, छर छिमेकमा सबै संग रिसाएर, हान्ने गोरू झैं फुल्दै इस्र्या र डाहले जल्दै, सबै संग आफूलाइ तुलना गर्दै स्वर्ग जस्तो वातावरण लाई नर्क बनाएर जिइ राखेको जिन्दगी जिऊन त हामीलाई कस्ले पो छेकेको छ र ।
देवचुली न.पा
नवलपुर
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%२%

प्रतिक्रिया दिनुहोस