२०७९ मंसिर २३, शुक्रबार
नयाँ
पछिला अपडेट

किन हुन्छ धेरै दुर्घटना,गैंडाकोट-दाउन्ने सडक खण्डमा

२०७५ पौष ८, आईतबार प्रकाशित ( साल अघि) ९१७ पाठक संख्या

सुवास पण्डित

नवलपुर , ८ पुस– नवलपुरको देवचुली नगरपालिका १६ का सूर्य न्यौपाने प्रायः भरतपुर, रजहर, कावासोती आउने जाने गरिरहन्छन्। आफैंले सवारी चलाउने न्यौपानेलाई यो सडकमा कहाँ कतिबेला दुर्घटनामा परिने हो भन्ने चिन्ताले यात्रा अवधिभर सताउने गर्दछ । यो सडकखण्डमा दिनदिनै जस्तो हुने दुर्घटना, घाइते र मृत्युका समाचार उनले सुन्दै आएका छन्। कतिपय अवस्थामा देख्दै पनि । उनी भन्छन्- सवारी चलाउँदा झसङ-झसङ हुन्छु, डर लाग्छ । दायाँ-बायाँबाट कसैले आएर ठक्कर दिन्छ की भन्ने तनावमात्रै हुन्छ

न्यौपानेको जस्तै यात्रा अवधिभर यो सडकखण्डमा तनाव हुने गुनासो गरे नवलपुरका पत्रकार विजय चालिसले पनि। उनी मोटरसाइकलमा गैंडाकोट-कावासोती गरिरहन्छन् । यो सडकखण्डमा हुने दुर्घटनामा समाचार आफैं लेख्छन् र एफएममा पढ्छन् पनि । यो सडकखण्ड चालिसेलाई पनि अति नै जोखिमपूर्ण लाग्छ ।

विगत केही महिनाका तथ्यांकहरु हेर्ने हो भने, गैंडाकोट-दाउन्ने सडकखण्डमा दर्जनौं मानिसहरुले दुर्घटनामा ज्यान गुमाएका छन् भने, त्यसको तीन गुणा बढी घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार साउन महिनामा ७ जना, भदौमा ४ जना, असोजमा १३ जना, कात्तिकमा १६ जना र मंसिरमा ६ जनाले ज्यान गुमाएका छन् । पुसको पाँच गतेसम्म २ जनाले ज्यान गुमाए भने, दुई दर्जन घाइते भए ।

ज्यान गुमाउनेमा अधिकांश मोटरसाइकलमा यात्रा गर्नेहरु छन् । प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा भदौमा ३, असोजमा २१, कात्तिकमा १८, मंसिरमा ८ जना छन् । करीव १२० भन्दा बढी साधारण घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

किन हुन्छ अधिक दुर्घटना ?

गैंडाकोटदेखि दाउन्नेसम्मको ७० किलोमिटर पूर्वपश्चिम राजमार्ग गण्डकी प्रदेशकै सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रमा पर्दछ । हरेक दिन साना-ठूला दुर्घटना यहाँ भैरहने प्रहरीको भनाइ छ । तीन नगरपालिका र एक गाउँपालिका यो राजमार्गको आधार क्षेत्रमा पर्दछन् । साँघुरो सडक, बीचमा जंगल, बढ्दो सहरीकरण, राजमार्ग केन्द्रित आवास निर्माण, सवारी साधनको अधिक चाप, अनुमति विना सवारी सञ्चालन, चालकहरुको लापरवाही र तीव्र गतिलाई प्रहरीले दुर्घटनाको प्रमुख कारण मानेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख रमेश थापाले पिकआवरमा राजमार्गमा एक मिनेट सवारी रोक्दा एक सयदेखि १२० सम्म सवारी साधन रोकिने जानकारी दिए । ‘सवारीको चाप अधिक छ, चालकको ओभर स्पीड उस्तै छ,’ एसपी थापाले भने, ‘दुर्घटना बढाउनुमा साँघुरो सडक र राजमार्ग वरपर केन्द्रित वस्ती विकास प्रमुख कारण हो।’

दाउन्नेको उकालोमा बिग्रिने सवारी साधनहरुलाई तत्कालै हटाउने साधन पनि नभएकाले कतिपय दुर्घटनाहरु भएका छन्।

ग्रामिण भेग जाने र आउने सहायक सडकहरु पनि राजमार्गसँग अधिक जोडिएका छन् । ७० किलोमिटर हाइवेमा तीव्र गतिमा विकास हुँदै गएका सहरहरु गैंडाकोट, मुकुन्दपुर, भेडाबारी, रहजर, दलदले, प्रगतीनगर, कावासोती, डण्डा, चोरमारा, आरुणखोला र दुम्कीवास छन् । यी सबै हाइवे केन्द्रित छन् । ‘विकसित देशहरुमा राजमार्गको निश्चित दूरीसम्म सहर वा बस्ती बसाउन पाइँदैन, तर नेपालमा हाइवे अतिक्रमण गरेर घर बनाउँदा खुसी हुने जनता र नियमन गर्न कमजोर राज्य संयन्त्र छ,’ स्थानीय सुर्य न्यौपानेले भने, ‘राजमार्गमा मानिसको चाप बढेपछि दुर्घटना त हुने नै भयो ।’

विषेशगरी जाडोको समयमा अधिक मात्रामा हुस्सु र कुहिरोका कारणले पनि यहाँ दुर्घटना हुने गरेको प्रहरी बताउँछ । राजमार्गको थुम्सी र चोरमारामा जंगल छ । ‘जंगल क्षेत्रमा सवारीको गति बढी हुन्छ । त्यही स्पीड बजारमा पनि खोज्ने चालकहरुको मुड बन्छ र दुर्घटना हुन्छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख युवराज भण्डारीले भने, ‘ट्राफिकको सीमित स्रोत र साधनबाट मात्रै दुर्घटना कम हुन सक्दैन ।’

लामो दुरीका सवारी साधनका लागि नवलपुर प्रहरीले कावासोतीमा ‘रिफ्रेस सेन्टर’को स्थापना पनि गरेको छ । राति ११ बजेदेखि विहान तीन बजेसम्म यहाँ अनिवार्य सवारी साधन रोकेर चालकलाई विश्राम गराउने काम हुने एसपी थापाले बताए।

नारायणगढ-बुटवल सडकखण्डलाई चार लेनको बनाउने तयारी पनि भैरहेको छ । सडक चार लेनको बनाएर लोकल रुटसमेत निर्धारण गर्न सके हाइवेमा ‘डिस्टर्बेन्स’ कम हुने प्रहरी प्रमुख थापाको धारणा छ ।

‘हिट एण्ड रन’को समस्या

गैंडाकोट-दाउन्ने सडकमा सवारी साधनहरुले ठक्कर दिएर भाग्ने गरेका छन् । कतिपय अवस्थामा कुन सवारी साधानले ठक्कर दियो र भाग्यो भनेर प्रहरीलाई अनुसन्धान गर्न पनि समस्या छ।

प्रहरीको नेटवर्क भएपनि सवारी साधनको पहिचान हुन नसक्दा समात्न समस्या हुने गरेको प्रहरी प्रमुख एसपी थापाले बताए। ‘विषेश गरी रातिको समयमा हामीलाई निकै समस्या भएको छ, कुन सवारीले ठक्कर दियो र भाग्यो भन्ने नै पत्तो हुँदैन’, एसपी थापाले भने ‘अनुसन्धानमा समस्या भएको छ ।’

उनले प्रमुख जिल्ला अधिकारी र स्थानीयतहका प्रमुखहरुसँग रातको समयमा समेत सवारी साधनको पहिचान हुने गरी सिसिटिभी राख्नेबारे छलफल भएको बताए । यो समचार ऑनलाइन खबर बाट साभार गरीएको हो । 

प्रकाशित मिति : ८ पुष २०७५, आईतवार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस