२०७९ मंसिर २३, शुक्रबार
नयाँ
पछिला अपडेट

काल पर्खेर कहिले सम्म बस्ने यो ज्यान लाई डल्लो पारेर ?

२०७५ पौष ४, बुधबार प्रकाशित ( साल अघि) ६७९ पाठक संख्या

उठौँ, जागौँ अल्ली बर्ष बढी बाँच्ने चेस्टा गरौँ यो ज्यानलाई धेरै माया नगरेर

avatar

मित्र पाठक

चाइनाको चेङ्दु शहरमा एक दिन राती आठ बजे पछि दिनभरीको तनाव हटाउन पर्‍यो भनेर आफुले अध्ययन गरेको कलेजको आसपास लाई एक दुई फन्का लाउदै थिएँ । झन्डै ८० बर्ष नाघेका बुढा बा पनि असिन पसिन भएर हिड्दै गरेको देखेँ । चाइनिज भाषा अभ्यास पनि हुने, तिनिहरुको रिती, रिवाज, रहन सहन कला सस्कृति पनि जान्न पाइने भएर होला, बुढा बुढीको मुसुक्क मुस्कान पाए पछि बोलम बोलम लाग्थ्यो र बोली पनि हाल्थेँ म । निहाओ (हामीले हेल्लो भने जस्तै) भनी हाले बुढा मान्छेले । एकै छिनको कुराकानी पछि मैले सोधी हाले – यस्तो जाडो छ, आरामले नसुतेर किन कस्ट गर्नु भा’को यो रातीमा ? बुढो मान्छेले अल्ली बेखुसी भा’को जस्तो मानेर बोली हाले – किन सुत्ने म ? किन बस्ने डल्लो परेर बेडमा ? काल पर्खिन ? म सँग उनलाई फर्काउने जवाफ थिएन । म अवाक भएँ, अगाडि बढें । अल्लि अगाडि पुग्दा अर्की बुढी आमा, जो झन्डै ७५ बर्ष पुग्दै थिइन होला, उनी साइकलमा पसिना काढ्दै थिइन । त्यही पर खुल्ला चौरमा गीत बज्दै थियो अनि थिए  पचास देखि साठी उमेरका आमाहरु बिभिन्न चाइनिज स्टाइलमा नाच्दै । मेरो मन भने नेपाल पुगी सकेको थियो अनि सम्झदै थियो हाम्रो देशका तमाम बुढा बा, आमा, हजुर बा, हजुर आमा हरु सबै लाई जो उमेरले ६० नाघ्दा ननाग्दै यता दुख्यो र उता दुख्यो भनेर बिस्तारा लाई साथी बनाइ राखेका छन, हस्पिटल धाइ राखेका छन् । अनि सम्झे चालिस कट्न नपाउदै सुगर र प्रेसर लगायतका रोग बोकेर देशको मुहार फेर्छु भने आफ्नै मुहार फेर्न नसकेका आफु जस्तै तमाम राष्ट्रप्रेमी हरुलाई । हुन हाम्रो भन्दा चाइनिज हरुको बाच्ने सरदर उमेर (झन्डै ७७ बर्ष) नेपालीको (७० बर्ष) भन्दा बढी छ । त्यसो हुनुमा केही जेनेटिक (बंसाणुगत) कारण होला तर मुख्य कारण चाँही खानपान र हामीले बाच्ने जीवन शैली नै हो । अधिकांस हामीले साच्चिकै काल नै पर्खि राखेका छौं दिन दुई गुना रात चार गुणा अल्छि बनेर, सुबिधा भोगी बनेर ।   

यो बर्ष साउन भदौ तिर घर आउँदा हप्ता दश दिन मै भुँडीले पुरानै रूप लिने प्रयास थाले पछि एक दिन नवलपुरको कावासोतीलाई एक फन्को लाउने बिचार आयो । सुनौलो बिहानीमा स्वच्छ हावा खाएर आफ्नै गाउँ ठाउँं घुम्न पाउँदा मन प्रफुल्लित थियो । तर त्यो झन्डै सुनसान बाटो र चौर देख्दा चाइनाको चेङ्दुमा बुढा बा ले बोलेको कुरा “किन सुती रहने म बेडमा डल्लो परेर, काल पर्खिन ?” दिमागमा खेलिरह्यो । किन कि न्यून उपस्थिती थियो मर्निङ वार्क को नाममा, इभिनिङ वार्कको नाममा मेरो शहरमा र अझै पनि उस्तै छ शायद । अझ पुष माघको जाडोमा त्यो दुस्साहस कमैले गर्लान घर बाहिर निस्किने !

हामी चाडै रोगी हुनुका पछाडिका कारण पत्ता लगाउन ठुलै अनुसन्धान कर्ताले अनुसन्धान गर्नै पर्दैन, हामी धेरैलाई थाहा छ । मुख्य कारण स्वास्थ्य सम्बन्धि जन चेतना भएर पनि अल्छि गर्नु नै हो । अर्को कुरा स्वास्थ्य हाम्रो पहिले प्राथमिकतामा परेको छैन । पढाई,जागिर,पैसा, परिवार, स्वादिलो मिठो र चिल्लो खानपान, गाडी,मोटर साइकल आदी आदी कारणमा सबैभन्दा धेरै पछाडि छ स्वास्थ्यहाम्रो प्राथमिकतामा । अनि यो जाडोमा यो ब्यस्त जीवनमा “ह्यया कस्ले टेन्सन लिओस” हिंड्न, खेल्न र अन्य शारिरिक ब्याम गर्न भन्ने कुरा नै प्रमुख कारण बन्दै छ हाम्रो आयु घटाऊन । कसै कसै बाट त यस्तो पनि सुनिन्छ, एक दिन जाने नै हो के का लागि मुख बार्ने ? “के का लागि यो शरीर लाई दु:ख दिने शारिरिक ब्यामका नाम मा” भनेर ! अझ भनौँ हामीले यो शरीर लाई, ज्यानलाई चाहिने भन्दा बढी माया गर्यौ र त मोटो घाटो र आफुलाई चिल्लो पिरो बनाउन मै ब्यस्त छौ हामीहरु । नेपालीहरु (बिशेष गरेर पुरुषहरुको) भुँडीको त झन के कुरा गराइ भो र, संसार भर हाइ हाइ छ त्यो बोसो र ग्यासले भरिएको भुँडीको । त्यस माथि स्थायी जागिर खाने र अल्ली माथिल्लो पोस्टमा पुग्नेको त नकुरा गरम होला । चार बर्ष पहिला एउटा चाइनिज साथीले मेरो एउटा साथी सँग पहिलो भेट मै परिचय गर्दै भनेको सम्झन्छु – “तिमी ईन्डिया बाट कि नेपाल बाट ?” साथीले संसारका यति धेरै देश छन कसरी झन्डै झन्डै मिलाएको भन्दा ऊ भन्थ्यो -” मैले तिम्रो भुँडी हेरेर अनुमान गरेको !”मन मनै लाजले भुतुक्क बनायो मोराले देख्ने  र सुन्ने हामी सबैलाई पनि ।

स्वास्थ्य सम्बन्धि धेरै लेखहरु आइ रहन्छन पत्र पत्रीका, रेडियो र टेलिभिजनमा पनि । स्वस्थ रहने बिभिन्न उपाय हरुको बारेमा आगामी लेखहरु मा थप चर्चा पनि गर्दै जाउँला । मेरो यो छोटो लेखको एउटै तात्पर्य भने अल्ली उमेर ढल्कदै गएका बुवा आमा हरु लाई झक्झकाउनु हो । कति ले आँफै पढ्ने मौका पाउनुहोला । त्यो मौका नमिले हामीले जानेका कुरा शेयर गरेर भए पनि अब सम्झाउनु पर्छ उहाँ हरु लाई । बुझाउनु पर्छ – “तपाईं जति अल्छि गरेर बिस्तारामा डल्लो परेर बस्नु हुन्छ त्यती नै रोगले आक्रमण गर्दै जान्छ, त्यतै नै नशा खुम्चिदै जान्छ । तसर्थ फाल्नुस् सिरक, निस्किनुस बाहिर सके बारीमा, करेसामा हल्का काम गर्नुस्, नसके बिहान बेलुका बाटो या खाली चौरमा हिंड्नुस् । नशा तन्काउनुस्, पसिना निकाल्नुस् । यसो गर्नु भयो भने यदी रोग लागिसकेको भए निको हुँदै जान्छ । नलागेको भए तपाईं अरु स्वस्थ रहनुहुन्छ । घरमा भएका शिक्षित छोरा छोरीको काम पनि अब सके आँफैले बुढा भएका बुवा आमालाई आँफै सँगै हिडाउने वा हिंड्न प्रोत्साहन गर्ने हुनुपर्छ । मैले सिकेको कुरा, देखेको कुरा, अधिकांस चाइनिज हरुको भुँडी नलाग्नुको कारण खाना खाने तरिका नै हो जस्तो लाग्छ । उनी हरु बिहानको खाजा टन्न खान्छन,(आठ देखि नौ बजे) बिहानको खाना र बेलुकाको खाना ठिकै खान्छन्, हामीले जस्तो पेट चर्किने गरेर खाँदैनन । त्यो भन्दा पनि  महत्वपूर्ण कुरा त बेलुकाको खाना छ-साढे छ बजे खाइ सक्छन् । अनि निस्किन्छन इभिनिङ वार्क, साइकल चलाऊन र चोक चोकमा नाच्न । अरुले जे गर्‍यो त्यो सम्भव नहोला मेरो आशय यति मात्रै हो कि उमेर ढल्केको नाममा बेडमै खाएर चुठ्ने बानी हाम्रै लागि घातक छ । तसर्थ तमाम आमा बुवा हरुलाई दिर्घ जीवन बाच्नुहोस् भन्ने शुभकामना सहित मेरो सादर अनुरोध छ –

ती चाइनिज बुढा बा ले भने झैँ  काल पर्खेर ज्यान लाई डल्लो पारेर नबसौँ बिस्तारामा । उठौँ, जागौँ ! अल्लि बर्ष बढी बाँच्ने चेस्टा गरौँ यो ज्यानलाई धेरै माया नगरेर तर अमुल्य जीवन लाई माया गरेर !

             
(चाइनाको चेङ्दु ईन्स्टिच्युट अफ बायोलोजीमा पि एच डी अध्ययनरत पाठक पेशाले बैज्ञानीक अधिकृत तथा साहित्यकार हुन्)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस