२०७९ मंसिर २३, शुक्रबार
नयाँ
पछिला अपडेट

सस्मरण : नेपाली ‘बा’ हरुलाई प्रदेशी छोराको चिठी

२०७५ मंसिर २९, शनिबार प्रकाशित ( साल अघि) ७८३ पाठक संख्या

मित्र पाठक ‘काँचुली’                                                                                                              

“फुलेका दार्ही सितका इस्ट कोटमा रमाउने बा, पुरानो धोती र मैलो चोलोमा सधैं घर धन्दामै ब्यस्त भईरहने मेरी आमा । लागातर तीन दिदी बहिनी पछि को म र कथं कदाचित् मलाई केही किछो भई हाल्यो भने अपुताली नपर्न जन्माएको मेरो भाई । अनि सात बर्षको हुँदा २२ बर्षका मेरा हजुर बा सँग अन्मिएकी आँखा नदेख्ने पुरै कपाल फुलेकी मेरी हजुर आमा “। यही हो मेरो पारिवारिक परिचय । अचल सम्पत्तिको नाममा मुस्किलले बर्ष दिन पनि खान नपुग्ने पाँच सात कठ्ठा खेत, एक हल गोरु, एउटा भैंसी अनि दुई चार वटा बाख्रा, हाम्रो धिपिर धिपिर जिन्दगीका बाँच्ने आधार थिए ।


हजुर आमाको पढाई को के कुरा गराइ भो र ? अलि अलि अक्षर चिनेका बा अनि निरक्षर आमा । आफु नपढे पनि सन्तान लाई पढाउनु पर्छ भन्ने राम्रै बुझेका बा ले दु:ख गरेर पनि हामी सबैलाई स्कुल पढाएको देख्दा गर्वले छाती फुल्थ्यो । त्यस माथि पनि गाउँलेले अर्काको घर जाने बढेका छोरी चेली के पढाउछस ए ! भन्दा पनि कसैको कुरा नसुनी दिदी हरुलाई लगातार एस एल सि सम्म पढाएर बिहे दान गरे पछि कत्रो इज्जत पा’थे मेरा बा ले गाउँमा । रिन धन गरेर सात आठ जनाको परिवार पाल्नु कहाँ चाने चुने कुरा थियो र ! त्यस माथि पनि हाम्रो पढाई खर्च । समयको आवश्यकता र माग अनुसार हामीलाई चाहिने अनेक खालका बिलासिताका बस्तुहरु । कसरी पुर्याए होलान हाम्रा बा आमाले ? दिदिहरु त भन्थे एस एल सि पास भए पछि हामी अब शहर जान्छौ, जागिर गर्दै पढ्दै गरेर अलि अलि पैसा पनि कमाएर पठाउछौ घरमा । तर हुर्के बढेका छोरी शहर पसे बिग्रिन्छन भनेर एक एक बर्षको फरकमा पालै पालो बिहे गरेर अन्माए बा ले !


भाई सानै थियो, दिदीहरु आ-आफ्ना घर गए पछि एक दिन अगेनामा आगो ताप्दै गर्दा मलिन अनुहार बनाएर दिदीहरुको बिहे गर्दा दश लाख बढी रिन लगेको कुरा बा ले आमा र मलाई भने -“ हेर् बाबु ! छोराको (तेरो) आशमा तीन दिदिहरु जन्मे, तिमीहरु सबैलाई लालन पालन गर्दा म बुढो भई सकेँ, भाई सानै छ । मारे पनि पाले पनि अब तेरै आश त हो । हुन त छोरा छोरीमा के फरक भन्छन, तँ जन्मेको बखत छोरो जन्म्यो भनेर खसी काटेर गाउँलेलाई खुवाएका थियौं हामीले । हाम्रो आशा अब तै माथि हो । स्नातक सम्म त तलाई म जसरी पनि पढाउछु । शहर जा अनि पाइस भने स सानो काम गर्दै पढ्दै गर अनि पछि जागिर खाएर ठुलो मान्छे बन्नु पर्छ ।”



जसो तसो प्लस टु सकेर मैले पनि बा ले भने झै गरें । तर शहर कहाँं गाउँ जस्तो हुदो रैछ र ? न कसैले दया माया देखाउछ न त कुनै सहानुभूति नै । मुस्किलले  तीन चार हजारको जागिर पाइन्थ्यो । रात भर बा ले रिन काढेका पैसाको ब्याज हिसाब गर्दा गर्दै कहिले कहिं त दुई तीन बजे सम्म पनि कोल्टे फेरेको फेर्यै हुन्थें म । स सानो सरकारी जागिर खाएका आफ्नै गाउँतिरका मान्छेले शहरमा ठुलै घर बनाएको देख्दा जागिर खाने लोभ पनि नजागेको होइन तर पढाई र दिनभरको जागिरले कुनै फुर्सत दिन्थेन मलाई । अर्को तर्फ सोच्थें – अब पन्ध्र बिसै हजार कै जागिर खाए पनि कसरी तिर्ने तेत्रो बिधि रिन ? अनि कसरी बन्छ होला सेतो धनले मात्रै तेत्रा घर ? घर परिवार चलाएर, बाल बच्चा ठुला ठुला स्कुल पढाएर । ती सबैको कर्तुत एक दिन बाहिर नआइ छोड्ला र ? उभो लगिएला जस्तो लागेन । 


सोचेँ, जसो तसो रिन धन गरेर बिदेश जान्छु । दुई चार बर्षमा पहिला रिन तिर्छु अनि देखा जाएगा । भाई पनि ठुलो भई सकेको छ अब मैले गरे जस्तो संघर्स भाईले गर्छ शहरमा ।
स्नातक सकेर सिधै घर हानिए म । बिदेश जान्छु भनेर बा लाई मनाउन झन्डै एक हप्ता लागेको थियो । नेपाल सरकारको झन्डा फहराएको गाडीमा छोरो कुदेको हेर्ने मेरा बा को सपना तुहाएर म पाँच बर्ष पहिला बिदेश भासिएको थिएँ । बा ले भन्थे – ठुलै बिपत्ती परेन भने अब आउने साल हामी रिनबाट मुक्त हुन्छौ रे ! 


कहिले कहिं लाग्छ – थुक्क जिन्दगी ! मेरा बा ले जुन तनाबले जिए जिन्दगी मैले पनि त्यही तनाब मै बाच्नु पर्ने ! दश कक्षा पास भए पछि मैले बा लाई भनेको थिए – मैले टि भि , कम्पुटर, मोबाईल बनाउन सिक्छु । किताब मात्रै पढेका धेरै बेरोजगार देखेको छु, सीप सिक्नु ठुलो कुरा हो । बा ले सिधै नकार्नु भो । उहाँ भन्नु हुन्थ्यो – त्यस्तो काम पनि गर्छन् पढेका मान्छेले ? 


बार्ह कक्षा पास गरे पछि मैले बा लाई भनेको थिएँ – आधुनिक तरिकाले तरकारी खेती गरौ बा, म शहर जान्न पढ्नलाई । म आँफै खन्छु बारी, आँफै जोत्छु । बा को कुरो पनि बेठिक थिएन – बजार धेरै टाढा छ, गाडी निकै मुस्किलले चल्छन त्यो पनि हिउदमा मात्रै । कहिले कहिं त अल्ली ठुलो पहिरो गयो भने बर्ष दिन नै गाडीको मुख देख्न गार्हो थियो गाउँमा । केही उपाए नलागे पछी म शहर पसेको थिए ठुलो सपना बोकेर । तर इमानले बाँच्न खोज्ने म जस्ता लाई होइन रहेछ शहर । मैले छल कपट गरिन, दुई नम्बरी काम सिकिन अनि ढाट्ने र छल्ने गरिन त्यसैले होला शहरले मलाई मन पराएन वा मैले शहर मन पराइन अझै स्पस्ट हुन सकेको छैन म । त्यस पछि शहर बाट अघाएर बिदेश हानिएको थिएँ म । बिदेश पसे पछि मैले सधैंका लागि हजुर आमा र आमा लाई पनि गुमाएँ । 

  
कहिले काहि मेरो दुखी जिन्दगीको जरो खोज्दै जान्छु । कारणहरु पत्ता लाग्छन – अशिक्षा, अन्धबिश्वास अनि आडम्बरी पुरुषबादी सोचंले भरिएको समाज । मलेसियामा मैले काम गर्ने मालिकको परिवारलाई हेर्छु । बाउ मलेसियन आमा चाइनिज भएकी उनिहरुकी एक्ली सन्तान (छोरी) लाई हेर्छु । कति खुशी छन उनिहरु । न कहिल्यै छोराका लागि ब्रत ? न कहिल्यै धेरै सन्तान पाल्ने पढाउने अनि तोके बमोजिमको दाईजो सहित छोरीलाई बिदाइ गर्ने चिन्ता, जुन चिन्ताले मेरा बा लाई पिर्यो, मलाई पिर्दैछ र त्यही चिन्ताले बिहे गर्न नपाएको मेरो भबिस्यको पुस्तालाई पनि अवस्य पिर्ने छ । त्यस माथि पनि जब एउटा बच्चा हुर्किन्छ तब पूरा समय लगाएर दुई जना नै आफ्नो काममा ब्यस्त हुँदा कती खुशी छन उनीहरु । तब पो प्रगति हुदो रैछ ।

कहिले काहि प्रश्न सोध्न मन लाग्छ मेरो आगमनमा खसी काट्ने बा लाई – किन बिद्रोह गर्न सकेनौ बा ? मलाई किन जन्मायौ ? मेरी जेठि दिदी जन्मे पछि नै तिमीले त्यो खसी काटेर तिमी आँफैले बन्ध्याकरण गरेको भए न तिम्रो जिन्दगी आज यसरी धिपिर धिपिर हुन्थ्यो न आमाले पाठेघर खसेर अकाल मै जान्थिन मेरो कमाइ खाने उमेरमा । न त मैले यसरी बिदेशमा मन अमिलो बनाएर चालिस पैतालिस डिग्रीमा बेल्चा चलाऊन पर्थ्यो । हुन त तिमी सँग मात्रै मेरो केही गुनासो छैन, तिमी त एउटा पात्र मात्रै हौ, देश हाक्ने बा हरुले त अन्धबिश्वासमा कालो बोको काट्दै गरेको समाचार पढ्दै छु बिदेशी भुमीमा । अझ हजारौ बा हरु छन मेरो देशमा जसले आडम्बरी पुरुषबादी सोचं र अन्धबिश्वासले भरिएका जेनेटिक डिएनए बोकी रहेका छन त्यो पनि पुस्तौ देखि, जस्को बनावट लाई मैले भत्काउने मात्रै हैन पुरै रिपेयर गर्नुपर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस