२०८१ मंसिर १८, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा सामूहिक लगानीमा थारु महिलाले खोले अतिथि गृह

२०७५ मंसिर २८, शुक्रबार प्रकाशित ( साल अघि) २१४६ पाठक संख्या

नवलपुर । पछाडि परेको थारु समुदायका महिलाहरुले नवलपुरको कावासोतीमा थारु सांस्कृतिक अतिथि गृह सञ्चालनमा ल्याएका छन् ।

सानो सानो बचतबाट ठूलो लगानी गर्न सकिने र समूहमा कसरी मिलेरसमेत काम गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् कावासोती १५ गोडारका थारु महिला ।

२९ जना महिलाहरुले थारु सांस्कृतिक अतिथि गृह सञ्चालनमा ल्याएर त्यसलाई जीवीकोपार्जनसँग जोड्न सफल बनेका छन् ।

अहिले उनीहरु गृहमा काम बाँडफाँट गरेर मिलेर आफैंले गर्दछन् । सिंहनाथ प्रावि र दुर्गाभवानी प्राविको चार विगाहा जग्गा भाडामा लिएर तीनबाट व्लक निर्माण गरेका छन्, आवासका लागि । जहाँ ८ वटा कोठा छन् । २४ जना पाहुना अट्न सक्छन् । घरहरु खरले छाएका छन् ।

उनीहरुले एउटा रेष्टुरेन्ट पनि सञ्चालन गरेका छन् । रेष्टुरेन्टको भवन छुट्टै छ । एक रात बसेको खानसहित एक हजार रुपैयाँ लिने गरिन्छ ।
जग्गाको भाडा वार्षिक ३५ हजार छ । गृहमा महिला दिदीबहिनीहरुको लगानी ८० लाख पुगिसकेको छ । केही ऋण पनि छ । यसलाई अझैं बढाउने सोच रहेको गृहकी सचिव विनु महताले जानकारी दिइन् ।

रुमको संख्या २० पुर्‍याउने लक्ष्य छ । थारुहरुको सांस्कृतिक नाँच घर बनाउने योजना छ । प्रत्येक महिलाहरूले न्यूनतम १ लाखका दरले लगानी गरेका छन् ।

उनीहरूले लगानीसँगै भवन निर्माणका लागि करिब चार महिना श्रमदान गरेका थिए । सोही समूहका १० जना महिलाहरू कर्मचारीको रूपमा कार्यरत रहेका छन् ।

निर्माण गरिएको अतिथि गृह भवनमा थारु संस्कृति झल्कने माटोको जाँतो, चुल्हो, भाँडाकुँडा समेतले सजाएर राखिएको छ ।

लोप हुने अवस्थामा पुगेको थारु संस्कृतिको संरक्षणमा समेत टेवा पुगेको सचिव महतोले बताइन् । गृहमा आउने पाहुनाहरुलाई थारु जातिका सांस्कृतिक झाँकी र नाचसमेत देखाएर खुसी पार्ने काम महिलाहरुले गर्दछन् ।

पाहुनाहरूका लागि थारू संस्कृति झल्कने लाठी र झम्टा नाँच प्रस्तुत गरिन्छ । गृहमा आउने पर्यटकहरूको लागि भिलेज वाक, बयलगाडा सफारी, जंगल सफारी, जीप सफारी, जंगल सफारी बोटिङ्ग, पोखरीमा फिसिङ्ग, नारायणी नदीमा सूर्योदय र सुर्यास्त दृश्य अवलोकन गराउन महिलाले नै लैजाने गरेका छन् ।

थारु सांस्कृतिक अतिथी गृहमा पर्यटकको आकर्षण बढेको छ । पोखरा, वुटवल, चितवबाट गृहमा आन्तरिक पर्यटक बढी आउने गरेका छन् ।

ग्रुपमा आउनेको संख्या ठूलो छ । गृहमा थारु समुदायका खानाका परिकार चिंचर, घोंगी, लिटी, सोझुवा रोटी, हाँसको मासु र माछाका परिकार मुख्य परिकार र पर्यटकहरूको रुचि अनुसारको खानाहरू पाइने, नेपाली, इन्डियन कन्टिनेन्टल खाना पाहुनालाई खुवाउने गरिएको छ ।

शान्त र मनोरम खुल्ला स्थानमा रहेको गृहमा आउने पर्यटकहरू ग्रिनरीबाट स्वागत गर्ने योजना गृहको छ । सो अनुरुप योजना बनाएर विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ । स्वागतद्धार निर्माण गर्ने योजना छ ।

‘महिलाहरू पनि समाजमा केही गर्न सक्छन् भन्ने उदाहरण देखाउन मात्रै होइन आयआर्जन पनि गर्न बढाउन अतिथिगृह खोलेका हौं,’ समुहकी सचिव विनु महतोले भनिन्, ‘यसले हाम्रो बोल्ने क्षमता, बाहिरी दुनियाँसगको सम्वन्ध र सम्पर्क पनि बढाएको छ । बचतमार्फत नयाँ क्षेत्रमा लगानी गरौं र आम्दानीको नियमित स्रोतको व्यवस्थापन गरौं भनेर होटल खोलेको हो ।’

गृहमा काम गर्ने सामान्य मालीदेखि व्यवस्थापकसम्म सबै महिलाहरु मात्रैं रहनेछन् । पहिला गाउँमा बोल्नसमेत डराउने महिलाहरु अहिले आउने पाहुनाहरुसँग खुलेर बोल्छन् । उनीहरुको स्वागतका लागि जुट्ने गरेका छन् । ‘अरुको मेलापात घाँसदाउरामा समय खेर फालिरहेका थियौं, दिनभरी मजदुरी गर्न जानपर्दथ्यो’ समूहकी एक सदस्य जीवनकुमारी महतोले भनिन्, ‘अहिले समुहमा काम गरेपछि आफ्नै काम र व्यवसाय गर्न सक्ने भएका छौं खुसी लागेको छ ।’

उनी गृहमा पाहुनाका लागि खाना सर्भ गर्ने काम गदैं आएकी छिन् । महिलाहरुबाट नै पूर्ण क्षमता गृह सञ्चालन गर्ने र देशकै लागि नमूना काम गरेर देखाउने धोको पूरा गर्न लागि परेको सचिव महतोले बताइन् ।

कावोसोती बजारबाट ७ किलोमिटर दक्षिणमा पर्ने यो गृह थारु वस्तीको मध्य भागमा छ । यसको नजिकै अमलटारी होमस्टेसमेत रहेको छ । अमलटारी होमस्टेसँग पनि समन्वयमा काम गर्ने गरिएको छ ।

गृह सञ्चालनको लागि कावासोती वडा नम्वर १५ ले पनि सहयोग गदैं आएको छ । वडाध्यक्ष देवनारायण महतोले गत वर्ष गृहको सांस्कृतिक समान खरिदका लागि ७५ हजारको सहयोग गरेका थिए ।

वडाध्यक्ष महतोले नै महिलाहरुलाई एकीकृत गरी अतिथि गृह सञ्चालन गर्ने कन्सेप्ट दिएका थिए । महिलाहरुलाई पुरुषहरुले पनि परेको बेलामा साथ दिने गरेका छन् ।

आफ्नै तरकारीवारी, माछा र हाँस पालन

महिलाहरुले अतिथी गृहमा आउने पाहुनाहरुलाई पूर्ण रुपमा अर्गानिक खानेकुरा खुवाउने प्रतिवद्धता अनुसार आफैंले तरकारी खेती लगाएका छन् ।
तरकारी खेती लगाउँदा समूहमा नै मिलेर लगाउने र गोडमेल गर्ने काम उनीहरुले गर्दछन् । महिला समूहले आफैंले माछापालन गरेको छ । हाँस र कुखुरापनि पालेका छन् ।

धान, तोरी खेती लगाएका छन् । ‘बाहिरबाट कुनै पनि तरकारी वा खाद्यान्न किन्न नपरोस् ,सवैलाई अर्गानिक तरकारी खुवाउने योजना छ’ समुहकी सचिव विनु महतोले भनिन्, ‘अझैं यसलाई ब्यापक रुपमा लगाएर बाहिरपनि वेच्ने योजना छ ।’

नेचरगाइड, ड्राइभिङ र हस्तकलाको काम सिक्दैं

समुहमा आवद्ध भएका महिलाहरुलाई नेचरगाइड, ड्राइभिङको तालिम दिने योजना छ । उनीहरु आफैंले सवारी चलाउन सकुन र पर्यटकहरुलाई देखाउन घुमाउन सकुन् भनेर तालिम दिन लागिएको वडाध्यक्ष देवनारायण महतोले बताए ।

डब्लु डब्लु एफ, हरियो वन लगायतका संस्थाहरुसँग साझेदारी गरेर तालिम अगाडि बढाइएको उनले जानकारी दिए ।

वडाको सहयोगमा हस्तकला सम्वन्धि तालिम महिलाहरुको रुची अनुसार दिने कार्यक्रम यहि वर्ष गरिनेछ । त्यसका लागि वडाले रकमसमेत छुट्टाएको छ ।

महिलाहरुले तयार गरेका हस्तकलाका सामाग्रीहरुलाई नजिकै रहेको थारु सांस्कृतिक संग्राहलयमा प्रर्दशनी र विक्रीका लािग राखिने योजना रहेको वडाध्यक्ष देवनारायण महतोले जानकारी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०७५, शनिबार  (रासस)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस