२०८२ अषाढ १८, बुधबार
नयाँ
पछिला अपडेट

ओली र दाहालको रहेन ‘नेपाल कम्युनिष्ट पार्टी’, सर्वोच्चको फैसला

२०७७ फागुन २३, आईतबार प्रकाशित ( साल अघि) १७४९ पाठक संख्या

सर्वोच्च अदालतले ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक राजनीतिक दल ऋषि कट्टेलले नेतृत्व गरेकै दलको भएको फैसला गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज उक्त दल कट्टेलकै भएको फैसला सुनाएको हो ।

रिट निवेदकको माग बमोजिम रिट जारी गर्ने अदालतको फैसला भए पनि फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्नो दलको नामसँग जुधाएको भनी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले रिट निवेदन दायर गर्नुभएकामा सुनुवाइ यही फागुन १३ गते सम्पन्न भएको थियो ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी)बीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध निवेदन दायर गर्नुभएको थियो ।

अध्यक्ष कट्टेलले आयोगमा त्यस विरुद्ध उजूरी दिए पनि ओली र दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पक्षमा निर्णय गरेको थियो । सो निर्णय विरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस