२०८३ श्रावण २२, शुक्रबार
नयाँ
पछिला अपडेट

कालिगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन पदमार्ग निर्माण सुरु

२०८३ अषाढ ९, मंगलबार प्रकाशित ( महिना अघि) १४० पाठक संख्या

नवलपुर ।  नवलपुरको बौदीकाली गाउँपालिका–२, स्थित कालिगण्डकी नदी किनारलाई धार्मिक, पर्यटकीय तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पदमार्ग निर्माण सुरु गरिएको छ । गाउँपालिकाले कालिगण्डकी नदी किनारमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बालिघाट क्षेत्रबाट पदमार्ग निर्माणको काम अघि बढाएको हो ।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटकीय सम्भावनालाई एकसाथ जोड्दै क्षेत्रको समग्र विकास गर्ने लक्ष्यसहित पदमार्ग निर्माण अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । उहाँका अनुसार कालिगण्डकी नदीको मनोरम दृश्यावलोकन गर्दै हिँड्न मिल्ने गरी निर्माण गरिने पदमार्गले धार्मिक तथा प्राकृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । ‘नदी किनारको सुन्दर दृश्यसँगै यहाँ रहेका धार्मिक स्थल, प्राकृतिक सम्पदा र पर्यटकीय आकर्षणलाई एकआपसमा जोड्ने उद्देश्यले पदमार्ग निर्माण सुरु गरेका हौँ,’ अध्यक्ष ओझाले भन्नुभयो । उहाँले पदमार्ग निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सहज हुने र स्थानीय आर्थिक गतिविधिसमेत चलायमान बन्ने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिकाले दीर्घकालीन योजनाअनुसार उक्त पदमार्गलाई बालिघाटस्थित आँप बगैँचा, कालिगण्डकी किनार वर, पिपल स्वामीँ चौतारी, गैडाअल्प झरना, चम्के ओडार लगायतका प्राकृतिक तथा धार्मिक महत्वका स्थानसँग जोड्ने लक्ष्य राखेको छ । साथै भविष्यमा यस पदमार्गलाई जिल्लाकै प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित अकलादेवी मन्दिरसम्म विस्तार गर्ने योजना रहेको अध्यक्ष ओझाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस