
चोरमारा । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका ७ चोरमारा बजार विकास समितिको सभाहलमा आज नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर २ को छलफल सम्पन्न भएको छ। नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको निर्वाचनका लागि क्षेत्र नम्बर २ को उम्मेदवारको तय गर्नका लागि तयारी स्वरूप छलफल गरेको हो।
क्षेत्र नं। २ का सभापति सूर्य गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा केन्द्रीय सदस्य कृष्णचन्द्र पोखरेल, केन्द्रीय सदस्य सीता पाण्डे, गण्डकी प्रदेशका पूर्व सांसद समेत रहनुभएका विष्णुप्रसाद लामिछाने , नवलपुर क्षेत्र नम्बर २ का सांसद विष्णु कुमार कार्की , लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्ती , नेपाली कांग्रेस नवलपुरका जिल्ला उपसभापति तथा मध्यबिन्दु नगरपालिकाका पूर्व नगर प्रमुख चन्द्रबहादुर राना, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य तथा मध्यविन्दु नगरपालिकाकी पूर्व उपप्रमुख ओम कुमारी महतो लगायत नेपाली कांग्रेस निकट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
छलफल पश्चात उम्मेदवारहरुले आफ्नो उम्मेद्वारी समेत दर्ता गराएका छन् । प्रत्यक्ष निर्वाचनतर्फ ओम कुमारी महतो, विष्णु प्रसाद लामिछाने , विष्णु कुमार कार्की , ओम बहादुर घर्ती र शंकर तिवारीले उम्मेदवारी दिनुभएको छ । यस्तै समानुपातिकतर्फ सिता पाण्डे , लक्ष्मी मैनाली र देव नारायण महतोले उम्मेद्वारी दिनुभएको छ भने राष्ट्रिय सभातर्फ सुमित्रा खनाल र ज्ञानेन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
प्रत्यक्षतर्फ १ महिला सहित ३ जनाको नामावाली र समानुपातिकतर्फ १ महिलासहित २ जनाको नाम, क्षेत्रीय कार्य समितिले छिट्टै टुङ्गो लगाई केन्द्रमा पठाइने नेपाली कांग्रेस नवलपुर क्षेत्र नं: २ का क्षेत्रीय कार्यसमितिका उपसभापति सतिश राइले जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेस नवलपुर क्षेत्र नं:२ का सचिव राजु पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा उपसभापति रामचन्द्र भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो।

