नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ दुम्किवासमा मङ्गलवार बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन्।
दुर्घटना लु.प्र.०१–००१ च ०९४८ नम्बरको स्कार्पियो र बा.प्र.०३–००१ च १४७४ नम्बरको पिकअप बलेरो एक आपसमा ठक्कर खाँदा भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिनुभयो।
घाइते हुनेहरूमा स्कार्पियो चालक विनयी त्रिवेणी– २ का ३१ वर्षीय रेशम बहादुर सारु मगर, सोही ठाउँकी १४ वर्षीया किरण फाल मगर, ३६ वर्षीया दानुमाया आले, ५५ वर्षीया सीता श्रेष्ठ, ४८ वर्षीय विष्णु श्रेष्ठ, ८४ वर्षीया रुपामाया श्रेष्ठ, ५७ वर्षीया यनिसरा लामिछाने, ३६ वर्षीय हरिबहादुर लामिछाने, ५२ वर्षीय कुल बहादुर कुमाल र बलेरो चालक हुप्सेकोट–१ का ४५ वर्षीय ओमनारायण महतो रहेका छन्।
घाइतेमध्ये नौ जना स्कार्पियोमा सवार थिए भने एक जना बलेरो चालक थिए। एक जनाको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ भने बाँकी घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल दुम्किवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।