२०८२ अषाढ २४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा तीन वटा पुल सम्पन्न, डेढगाउँ–झ्यालबास सडकखण्डमा तीव्र गतिमा काम

२०८२ बैशाख १२, शुक्रबार प्रकाशित ( महिना अघि) ४१ पाठक संख्या

कावासोती — पूर्वाधार विकास कार्यालय, नवलपरासी पूर्व ( नवलपुर )  ले चालु आर्थिक वर्षमा तीन वटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको छ। तीमध्ये सबैभन्दा ठूलो लागतमा निर्माण भएको जय श्री खोलाको पुल हाल सवारीसाधनका लागि सञ्चालनमा आइसकेको छ।

गैँडाकोट नगरपालिका–६ र ९ जोड्ने ६० मिटर लामो सो पुलको लागत ६ करोड ३८ लाख रुपैयाँ रहेको छ। रंगरोगनको काम बाहेक अन्य सबै संरचनात्मक कार्य सकिएको कार्यालयले जनाएको छ।

यसैगरी, कावासोती नगरपालिका क्षेत्रको डण्डाखोलामा सल्लो फर्सा घाट चिसापानी पुल पनि निर्माण सम्पन्न भएको छ। ७१ मिटर लम्बाइको उक्त पुल निर्माणमा ५ करोड १६ लाख रुपैयाँ खर्च भएको हो। यस्तै, मध्यविन्दु नगरपालिका–१५ स्थित गडार खोलामा निर्माण भएको ४५ मिटर लामो पक्की पुल ६ करोड ४ लाख रुपैयाँ लागतमा सम्पन्न भएको छ।

Purbadhar

कार्यालयमार्फत थप तीन स्थानमा मोटरेबल पुल निर्माणको काम पनि अघि बढिरहेको छ। देवचुलीको बौलाहा खोला, बौदीकाली–डेढगाउँको बौदीर खोला र गैँडाकोटको जुत्ती खोलामा अहिले निर्माण कार्य जारी रहेको कार्यालयका इञ्जिनियर आशिष पोख्रेलले जानकारी दिनुभयो।

उहाँका अनुसार चालु आर्थिक वर्षमा कार्यालयले १७५ वटा पूर्वाधार योजना कार्यान्वयन गर्ने लक्ष्य लिएकोमा हालसम्म १८ वटा योजना सम्पन्न भइसकेका छन्। तीमध्ये तीनवटा पुल र १५ वटा बाटोका योजना छन्। बाटो योजनामध्ये अधिकांश साना स्तरका हुन्।

गण्डकी प्रदेश सरकारको ‘प्रदेश गौरवको योजना’ मा सूचीकृत कोरला–त्रिवेणी सडकअन्तर्गत पर्ने डेढगाउँ–झ्यालबास सडक खण्डमा काम तीव्र गतिमा अघि बढेको छ । ४१ किलोमिटर लम्बाइको यो सडकलाई तीन खण्डमा विभाजन गरेर काम भइरहेको इञ्जिनियर पोख्रेलले जानकारी दिनुभयो।

पहिलो खण्डमा १४ किलोमिटरमध्ये ७ किलोमिटर पक्की ढलानसहित कालोपत्रे कार्य सम्पन्न भएको छ । दोस्रो खण्डमा ४ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ भने तेस्रो खण्डमा ग्याभिन जाली तथा टेवा पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ।

उनका अनुसार चालु आर्थिक वर्षमा कार्यालयलाई पुँजीगत तर्फ ७६ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएकोमा चैत मसान्तसम्म ३१ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ४०.९१ प्रतिशत हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस