नवलपुर । लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा पहिरो र बाढीका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय, नवलपुरले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा, स्याङ्जा हुँदै बुटवल जान अनुरोध गरिएको छ।
त्यसैगरी, काठमाडौंबाट पश्चिम जान चाहने सवारी साधनले पनि यही मार्ग प्रयोग गर्नुपर्नेछ। पश्चिमबाट पूर्वतर्फ आउने गाडीले समेत बुटवल–स्याङ्जा–पोखरा–मुग्लिङ हुँदै यात्रा गर्न सूचना दिइएको छ।
साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी करिडोर अन्तर्गत गैंडाकोट–पिपलडाँडा सडकखण्ड प्रयोग गर्न सकिने विकल्प दिइएको छ। प्रहरीले सम्भव भएसम्म यात्रा टार्न र अत्यावश्यक अवस्थामा मात्र सवारी साधन चलाउन अनुरोध गरेको छ।