२०८२ जेष्ठ २३, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकको मृत्यु, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार प्रकाशित ( दिन अघि) ९६ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौली चोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बिहान करिब ८:३० बजे बुटवलबाट नारायणघाटतर्फ बिरामी बोकेर जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र दुम्कौलीतर्फ जाँदै गरेको बा २० च ७२ नम्बरको स्कुल भ्यान एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा देवचुली नगरपालिका–१ का ५२ वर्षीय स्कुल भ्यान चालक कुलप्रसाद सुबेदी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएकोमा बिहान ९:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्समा सवार बुटवल उपमहानगरपालिका–३, गोलपार्ककी ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई र २५ वर्षीया स्नेहा परियार घाइते भएका छन्। उनीहरूलाई अनुहार तथा टाउकोमा चोट लागेको छ। अवस्था मध्यम रहेको र चितवनको मनकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

स्कुल भ्यानमा सवार देवचुली नगरपालिका–१७ की १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोक्का सामान्य घाइते भएका छन्। उनीहरूलाई स्थानीय भविष्य पोलिक्लिनिकमा उपचारपछि डिस्चार्ज गरिएको छ।

दुर्घटनापछि एम्बुलेन्समा रहेका अन्य बिरामीहरूलाई अर्को एम्बुलेन्समार्फत चितवन पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस