२०८२ बैशाख २३, मंगलबार
नयाँ
पछिला अपडेट

देवचुली नगरपालिकाको सार्वजनिक सुनुवाइमा फोहर मैला व्यवस्थापनप्रति जनचासो

२०८२ बैशाख २३, मंगलबार प्रकाशित ( घण्टा अघि) ९६ पाठक संख्या

नवलपुर । देवचुली नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सर्वसाधारणले नगरको समग्र विकाससँगै फोहर मैला व्यवस्थापनका विषयमा विशेष चासो व्यक्त गरेका छन् ।

जनप्रतिनिधि र सरोकारवालासामु खुला रूपमा आफ्ना जिज्ञासा र गुनासाहरू राख्ने क्रममा नागरिकहरूले नगरका अन्य महत्त्वपूर्ण क्षेत्रहरू – कृषि, सिँचाइ, शिक्षा, भौतिक पूर्वाधार र बाटो स्तरोन्नतिको विषयमा समेत प्रश्न उठाएका थिए ।

कार्यक्रममा सहभागी स्थानवासीहरूले नगर क्षेत्रमा दिनप्रतिदिन बढ्दो फोहर व्यवस्थापनको चुनौतीबारे आवाज उठाउँदै तत्काल समाधानकोलागि सुझाव दिएका छन् । देवचुली १६ का ख्याम बहादुर क्षेत्रीले प्रश्न गर्नु भयो,“सडक छेउ, बजार क्षेत्र र बस्तीमा अनियन्त्रित रूपमा फोहर जम्मा हुँदै गएको छ, यसको उचित व्यवस्थापन कहिले हुन्छ रु” नगरप्रमुख हरि प्रसाद न्यौपानेले फोहर मैला व्यवस्थापनप्रति नगरपालिका गम्भीर रूपमा लागिपरेको बताउनु भयो । “हामी नयाँ फोहर व्यवस्थापन केन्द्रको स्थायित्व र स्रोत साधन व्यवस्थापनमा काम गरिरहेका छौँ, जनसहभागितालाई समेत यसमा प्राथमिकता दिइनेछ”,नगरप्रमुख न्यौपानेले भन्नु भयो ।

त्यस्तै, उपप्रमुख पार्वता तिवारीले जनताका प्रश्नहरूलाई प्राथमिकतामा राखेर कार्य योजना बनाइने बताउनु भयो ।
उहाँले भन्नु भयो,“नगरवासीहरूको आवाजलाई सम्मान गर्दै योजनाबद्ध रूपमा कृषि, सिँचाइ, बाटो सुधार र शिक्षा क्षेत्रमा काम भइरहेको छ र अझ प्रभावकारी रूपमा अघि बढाइनेछ ।”

कार्यक्रममा स्थानीयले ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिनमा सिँचाइ नपुगेको, विद्यालयमा गुणस्तरीय शिक्षा अभाव, तथा ग्रामीण सडकहरू अझै कच्ची रहेको विषयमा जिज्ञासा राखेका थिए । उनीहरूले नगरपालिकाले प्राथमिकता निर्धारण गर्दा जनचाहना र आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।देवचुली नगरपालिकाको आयोजना तथा देवचुली मिडिया प्रालिको संयोजनमा देवचुली नगरपालिका १६ को वडा कार्यालय परिसरमा मङ्गलवार देवचुली नगरपालिकाको वडा नं। १६ र १७ को सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । नगरपालिकाले साबिकका चार वटा गाविसलाई ४ क्षेत्र बनाएर प्रभावकारी सार्वजनिक सुनुवाइ गर्ने सिलसिलामा साबिकको रजहर गाविसको भूगोलमा पर्ने वडाका जनतासँग आर्थिक वर्ष २०८१र०८२ को विकास व्यवस्थापन तथा सेवा प्रवाहका सम्बन्धमा कार्यक्रम गरेको हो ।

कार्यक्रममा उठेका प्रश्नहरूको नगर प्रमुख हरिप्रसाद न्यौपाने,उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम, देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे र शाखा प्रमुखहरूले जवाफ दिनुभएको थियो ।

त्यसै गरी देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले कर्मचारी वाट सेवा प्रवाहमा हुने ढिलासुस्ती, बेवास्ता र अनियमितताका विषय भए सिधै आफूलाई सूचना गर्न आग्रह गर्नुभएको थियो ।
नगर प्रमुख न्यौपानेले सार्वजनिक सुनुवाइमार्फत जनताले प्रत्यक्ष रूपमा व्यक्त गरेका गुनासा, समस्या लगायतका प्रश्नले आगामी दिनमा आफूहरूलाई थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले अझै तिन वटा भूगोलमा यस आर्थिक वर्षको सार्वजनिक सुनुवाइ गरी नगरपालिकाकै सार्वजनिक सुनुवाइ सम्पन्न गर्ने जानकारी दिनु भयो ।

देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप–प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत दिवाकार पौडेल, वडाध्यक्षहरू, वडा सदस्य र देवचुली नगरपालिकाका विभिन्न शाखा प्रमुख एवम् नगरपालिकाका कर्मचारी सहित स्थानीयहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण पत्रकार विष्णु गौडेलले गर्नुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमले नगर सरकार र जनताबिचको अन्तरसम्बन्ध अझ प्रगाढ बनाएको सहभागीहरूले बताएका छन् ।
“सुनुवाइ कार्यक्रमले आवाज राख्ने थलो दिएको छ,”स्थानीयले भने, “तर ती आवाज योजनामा परिणत भएर कार्यान्वयन भए मात्रै यसको सार्थकता हुनेछ।”

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस