२०८३ जेष्ठ १२, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा बोटमै केरा कुहिन थालेपछि किसानहरू चिन्तित

२०८० भाद्र ३०, शनिबार प्रकाशित ( साल अघि) ६५८ पाठक संख्या

नविन पौडेल

परासी — पश्चिम नवलपरासीका किसानहरूले लगाएका केरा बोटमै सुक्न थालेपछि किसानहरू चिन्तित भएका छन् । केरा खेतीमा रोगको प्रकोप फैलिएपछि समाधानका उपायका लागि स्थानीय तह र कृषि ज्ञान केन्द्रमा किसानले सहयोग माग्न थालेका छन् ।

जिल्लाको केरा पकेट क्षेत्र मानिएको प्रतापपुर र सुस्ता गाउँपालिकामा ब्ल्याक सिगाटोकाु नामक रोग फैलिएपछि बगानमा नै केरा कुहिने र आफैं झर्ने समस्या किसानले झेल्नु परेको छ ।

बिक्रीका लागि तयारी अवस्थामा रहेको केरा बोटमा नै कुहिने र झर्ने समस्या रहेको किसानहरूको गुनासो छ । समयमै रोग पहिचान र समाधान नहुँदा जिल्लामा २ सय विगाहाभन्दा बढी क्षेत्रफलमा लगाएको केरा खेतीमा क्षति पुगेको हो ।

हाल किसान आफैंले रोग नियन्त्रणका लागि जमिन सफा गर्ने र विषादी छर्ने काम गरिरहेका छन् । कृषि ज्ञान केन्द्र नवलपरासीका सूचना अधिकारी समीर सिहं बराईले भने केराको रोगको विषयमा कार्यालयमा जानकारी नआएको र समस्याबारे बुझ्ने प्रतिक्रिया दिए ।

भारतबाट सस्तोमा केरा आयात हुँदा नेपाली केरा नबिकेर चिन्तित भएका किसानहरू रोगले धमाधम बोट सहित केरा नष्ट हुन थालेपछि आफूहरू थप मर्कामा परेको केरा उत्पादक किसान सङ्घका जिल्ला अध्यक्ष लख्खु यादवले बताए ।

किसानले व्यावसायिक रुपमा लगाएको खेती नष्ट भएकाले राहत उपलब्ध गराउन माग गरेको पनि अध्यक्ष यादव बताउँछन् । चिनी उद्योगले समयमै भुक्तानी नदिएर केरा खेतीतर्फ लागेका किसानहरू केरामा पनि रोग लागेपछि थप समस्यामा परेको किसानहरूको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस