२०८२ जेष्ठ ५, सोमबार
नयाँ
पछिला अपडेट

बैतडी जीप दुर्घटनामा मृत्यु हुनेमा चारै जना प्रहरी

२०७९ मंसिर ५, सोमबार प्रकाशित ( साल अघि) ५३२ पाठक संख्या

काठमाडौं । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन्।

मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउद र बीर्खबहादुर विष्ट रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र बीर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा आठ जना प्रहरी र एक चालक घाइते भएका छन्। घाइते हुनेमा प्रहरी हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवान नरेश कठरिया, आशा धामी, भानु विष्ट, टीकेन्द्र ऐरी, चन्द्रसिंह ठगुन्ना र जीप चालक देवराम महर रहेका छन्।

घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पन्थीले बताए। अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

उपचाररत नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारका लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको प्रजिअ पन्थीले बताए। जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर पाटन फर्कंदै गरेको से१ज ८५४ नम्बरको जिप सोमबार बिहान दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियो।

जीपमा १२ प्रहरी र एक चालक गरी १३ जना सवार थिए। जीप सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको छ। रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालक अनिंदो भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। – रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस