सल्यान । नवलपुर देवचुलीका स्रष्टा तथा हाल सल्यानलाई कर्मथलो बनाएर वनस्पतिक अनुसन्धान र साहित्यिक यात्रामा सक्रिय डा.मित्र पाठक ‘काँचुली’को चौथो कृति ‘हाँस्न बिर्सिएको मान्छे’ सार्वजनिक गरिएको छ।
कपुरकोट गाउँपालिकाको आयोजनामा, जीवन ज्योति नमूना माध्यमिक विद्यालय रिमको व्यवस्थापन तथा साहित्यकार भद्रसिंह बुढा भास्वरको संयोजनमा सम्पन्न कार्यक्रममा पुस्तक विमोचन गरिएको हो।
कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, त्रिवेणी गाउँपालिका अध्यक्ष नेत्र सुवेदी ‘प्रयास’, उपाध्यक्ष प्रकाश भण्डारी र वरिष्ठ साहित्यकार पूर्ण भण्डारी ‘पंकज’ले संयुक्त रूपमा पुस्तक विमोचन गरे।
सो अवसरमा भिमसेन बीएम एण्ड टिमको नयाँ गीत ‘जेन्जी’ पनि पहिलोपटक सार्वजनिक गरिएको थियो। कार्यक्रममा सल्यानका स्थानीय तथा सल्यानलाई कर्मथलो बनाएका झन्डै ३५ जना कविहरूले आफ्ना रचना वाचन गरे। सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
डा. पाठकका यसअघि दुई लघुकथा संग्रह र एक गजल संग्रह प्रकाशित छन्। नयाँ कृति ‘हाँस्न बिर्सिएको मान्छे’मा सामाजिक र समसामयिक विषयवस्तु समेटिएका छन्। पुस्तकको प्रकाशक हाल अस्ट्रेलिया निवासी दीपक पाण्डे हुन् भने वितरण सम्पूर्ण किताब नारायणगढले गर्नेछ।