मध्यविन्दु । आज दिउँसो अन्दाजी १५:२५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–७ चोरमारा बजारस्थित पूर्व–पश्चिम राजमार्गमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
कावासोतीबाट नवलपरासीतर्फ जाँदै गरेको भारतीय बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा सर्लाही, लालबन्दी नगरपालिका–४ का ३४ वर्षीय मोटरसाइकल चालक नरेश चौधरी, उनकी श्रीमती ३० वर्षीया अनिता चौधरी र १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको थियो। तर, अनिता चौधरीलाई चिकित्सकले साँझ १६:५ बजे मृत घोषणा गरेका हुन्। चालक नरेश चौधरी र छोरा अनुजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस र बस चालकलाई प्रहरी चौकी तम्सरियाले नियन्त्रणमा लिएको छ।