कावासोती । सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरले आज साउन १० गते वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कावासोती–१७ स्थित अमलटारीको गङ्गेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न उक्त कार्यक्रममा गत वर्ष रोपिएका बिरुवाहरूको गोडमेल, साउन महिनाको गङ्गा स्नान, मन्दिर दर्शन र हवन कार्यसमेत सम्पन्न गरिएका थिए।
सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरका अध्यक्ष डा.नरनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रमुख अधिकारी भविष्वर पाण्डे रहनुभएको थियो। त्यस्तै, कावासोती–३ का वडाध्यक्ष डोरमान गिरी र अमलटारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युक्तप्रसाद गौंडेल विशेष अतिथि रहनुभएको थियो। कार्यक्रम समाजका लेखा संयोजक देवराज भट्टराईले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष शान्ति केसीले स्वागत मन्तव्य दिनुभएको थियो।
राष्ट्रिय गान, व्यानर वाचन तथा स्वस्तिवाचनसहित प्रमुख अतिथिबाट कार्यक्रमको औपचारिक समुद्घाटन गरिएको थियो। कार्यक्रममा करिब ५० जनाको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि पाण्डेले सेवानिवृत्त राष्ट्रसेवक समाजको कार्यको प्रशंसा गर्दै सामाजिक सेवामा सेवानिवृत्त राष्ट्रसेवकहरूको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने र अन्य सेवानिवृत्त व्यक्तिहरूलाई पनि सक्रिय बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै, आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै, सेवानिवृत्त राष्ट्रसेवकहरूको अनुभवलाई समाजको सेवामा उपयोग गर्न प्रशासन पनि इच्छुक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा वडाध्यक्ष गिरी र समितिका अध्यक्ष गौंडेलले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। अन्त्यमा, अध्यक्ष डा. पाण्डेले संस्थाको कार्ययोजना तथा आगामी गतिविधिहरूबारे जानकारी गराउँदै कार्यक्रम सफल पार्न प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
नेपालका विभिन्न सरकारी निकायबाट सेवानिवृत्त भई पेन्सन सुविधा लिने राष्ट्रसेवकहरूको साझा, गैरराजनीतिक र गैरनाफामूलक संस्था सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुर हो। समाजले स्वास्थ्य, सेवा, चेतना र समाजसेवा सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस समाजमा निजामति, जङ्गी, प्रहरी, शिक्षक, स्वास्थ्यकर्मी, न्यायसेवी लगायतको सक्रिय सहभागिता छ । समाजले प्रत्येक महिना सामाजिक उत्तरदायित्व वहन गर्दै नियमित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।