२०८२ भाद्र १६, सोमबार
नयाँ
पछिला अपडेट

कानून संवेदनशील भएर बनाउनुपर्छ: उपसभामुख इन्दिरा राना मगर

२०८२ श्रावण १, बिहिबार प्रकाशित ( महिना अघि) २९५ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले कुनै पनि कानून संवेदनशील भएर बनाइनुपर्ने आवश्यकता औंल्याउनु भएको छ।

बुधबार माइती नेपालद्वारा आयोजित “मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४” लाई संशोधन गर्न बनेको विधेयक, २०८१ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले समय र सन्दर्भअनुसार कानून संशोधन गर्नु आवश्यक रहेको बताउनुभयो। साथै, मानव बेचबिखन विरुद्ध भइरहेका घटनाक्रमलाई मध्यनजर गर्दै पीडितमुखी कानून निर्माणमा जोड दिनुभयो।

कार्यक्रममा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाहले सो विधेयकलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढाउनु पर्ने उल्लेख गर्दै, अन्तर्राष्ट्रिय दायित्वहरूसँग मेल खाने गरी थप सशक्त बनाउनुपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका स्रोत व्यक्ति तथा पूर्वन्यायाधीश डा। श्रीकृष्ण भट्टराईले प्रस्तावित संशोधन विधेयकमा समेटिनुपर्ने मुख्य बुँदाहरू प्रस्तुत गर्नुभयो। उहाँले डिजिटल माध्यम र सामाजिक सञ्जालमार्फत हुने मानव बेचबिखन, यौनजन्य शोषण तथा न्यायिक प्रक्रियामा देखिने अवरोधहरू विधेयकमा स्पष्ट उल्लेख गरिनुपर्नेमा जोड दिनुभयो।

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले प्रस्तावित विधेयकमा आन्तरिक मानव बेचबिखनसम्बन्धी कानूनी प्रावधानहरू समेटिनु पर्ने आवश्यकता औंल्याउनु भयो। साथै, नाबालकहरूलाई लागू औषध कारोबारमा प्रयोग गरिँदै आएको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो। माइती नेपालले विगत ३३ वर्षदेखि मानव बेचबिखन विरुद्ध विभिन्न कार्यक्रममार्फत सक्रिय भूमिका खेल्दै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस