२०८२ अषाढ १५, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नेचर गाइडलाई तीनदिने पन्छी अवलोकन तथा पर्यटन तालिम सम्पन्न

२०८२ अषाढ ११, बुधबार प्रकाशित ( दिन अघि) २२५ पाठक संख्या

कावासोती — चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गुन्द्रही ढाकाह, नमुना, शान्तिकुञ्ज र कृष्णसार क्षेत्रमा कार्यरत ४० जना नेचर गाइडलाई तीनदिने पक्षी पहिचान, अवलोकन तथा दिगो चरा पर्यटनसम्बन्धी तालिम सम्पन्न गरिएको छ।

पोखरा पक्षी समाजको आयोजनामा, नेपाल पर्यटन बोर्डको सहयोग र नेचर गाइड एसोसिएसन नवलपुरको सहकार्यमा असार ८ देखि १० गतेसम्म थारु सामुदायिक लज, गदारमा तालिम सञ्चालन गरिएको हो।

तालिममा नेपाल पक्षीविद् संघका अध्यक्ष तथा चराविद् हठन चौधरी, बर्ड्स नेपालका कार्यकारी निर्देशक सिजन ज्ञवाली, पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे, सचिव हेमन्त ढकाल, हिमालयन ट्रेल्सका कार्यकारी निर्देशक गोपी श्रेष्ठ, नेपाल नेचर ट्रेक्सका कार्यकारी निर्देशक राजेन्द्र गुरुङ, पर्यटन बोर्ड गण्डकीका वरिष्ठ अधिकृत युवराज गुरुङलगायत प्रशिक्षकहरूले सैद्धान्तिक र फिल्ड दुवैखाले प्रशिक्षण दिएका थिए।

तालिम समापन समारोह चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा। गणेश पन्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारी र नयाँ गोरख गणका प्रमुख सेनानी शिवराम बस्न्यातको विशेष उपस्थिति रहेको थियो।

पोखरा पक्षी समाजका अध्यक्ष घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेचर गाइड एसोसिएसन नवलपुरका अध्यक्ष लाल बहादुर बोटेले तालिमको महत्त्वमाथि प्रकाश पार्नुभयो।

समापन समारोहमा बोल्ने वक्ताहरूले स्थानीय स्तरमा यस्तो प्रकारको तालिमले रोजगारीका अवसर सिर्जना गर्नुका साथै संरक्षणमा योगदान पुर्‍याउने धारणा राखेका थिए। नेपाल पक्षीविद् संघका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौड्याल, जटायु रेष्टुरेन्ट पिठौलीका संयोजक धनबहादुर चौधरी, नेपाल पक्षी संरक्षण संघका पूर्व अध्यक्ष राजेन्द्र गुरुङ, अमलटारी उपभोक्ता समितिका अध्यक्ष केदारनाथ घिमिरेलगायतले तालिमको सराहना गरेका थिए।

हालका वर्षमा चरा पर्यटनप्रति आकर्षण बढ्दै गएको सन्दर्भमा चितवन निकुञ्जको काखमा रहेको नवलपुरलाई चरा पर्यटनको सम्भावित केन्द्रको रूपमा विकास गर्न तालिमले योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस