कावासोती । नवलपुरको गैंडाकोटमा बलेरो ट्रकमा ठोक्किँदा दुई जना घाइते भएका छन्। आज बिहान करिब १:४२ बजे गैंडाकोट नगरपालिका–२ नारायणी नदी पुल नजिक पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो।
धादिङबाट कावासोतीतर्फ जाँदै गरेको लु ३ च ४९४८ नम्बरको बलेरो गाडीका चालक निदाएका कारण सोही दिशातर्फ गइरहेको लु २ ख १३५४ नम्बरको ट्रकको पछाडिबाट ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
बलेरो चालक मध्यविन्दु नगरपालिका–२ सेहरीका ३९ वर्षीय निमबहादुर महतो रहेका छन् । दुर्घटनामा बलेरोमा सवार दुई जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पठाइएको छ।
घाइतेमध्ये कावासोती नगरपालिका–७ गैँह्री निवासी ४८ वर्षीया केशमाया गन्द्रमा मगरको दाहिने खुट्टामा चोट लागेको छ भने उनकी ७ वर्षीया नातिनी मिनु गन्द्रमा मगरको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। दुबैको अवस्था मध्यम रहेको जनाइएको छ।