२०८२ अषाढ ४, बुधबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा यु–१६ फुटबल सुरु, राईनो र दुम्कीवासको विजयी सुरुआत

२०८२ अषाढ ४, बुधबार प्रकाशित ( घण्टा अघि) १२० पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा अन्तरपालिका स्तरीय जुनियर यु-१६ फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा राईनो क्लव समूह ‘बि’ र दुम्कीवास विकास प्रतिष्ठान विजयी भएका छन्।

बुधबार सम्पन्न पुरुषतर्फको खेलमा राईनो क्लव ‘बि’ ले दुम्कीवास विकास प्रतिष्ठान विनयी त्रिवेणीलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो।

खेलको १६औँ र २२औँ मिनेटमा शिशिर केसीले लगातार दुई गोल गरे भने २८औँ मिनेटमा भुवन महतोले गोल थप्दै सहज जित दिलाए। खेलको दोस्रो हाफमा कुनै गोल हुन सकेन।

त्यस्तै महिलातर्फको खेलमा दुम्कीवास विकास प्रतिष्ठानले राईनो क्लव ‘बि’लाई ३–१ ले पराजित गर्‍यो । दुम्कीवासतर्फबाट वसन्ती सोती मगरको उत्कृष्ट प्रदर्शन निर्णायक बनिन्न।

प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै शर्माले, “राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो,” भन्नुभयो।

जिल्लास्तरीय प्रतियोगितामा पुरुष तथा महिलातर्फ विभिन्न पालिकाका टिम सहभागी छन् । आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ७० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३५ हजार र ५ हजार रुपैयाँ पाउने छन्।

त्यस्तै, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ खेलाडीलाई २ हजार रुपैयाँसहित सम्मान गरिनेछ । प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता पनि पुरस्कृत हुनेछन् । खेलमा सहभागी सबै टिमलाई जर्सी, खाजा तथा यातायातको व्यवस्था गरिएको आयोजक राईनो क्लवका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिनुभयो। बिहीबारको खेल देवचुली र मध्यविन्दु नगर खेलकुद विकास समितिबीच हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस