कोल्हुवा । नवलपुरमा पहिलो पटक अन्तरपालिका स्तरीय जुनियर यू–१६ महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
राईनो क्लबको आयोजनामा आगामी असार ४ गतेदेखि १० गतेसम्म मध्यविन्दु–२ स्थित राईनो रंगशालामा प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए ।
अध्यक्ष भण्डारीका अनुसार गण्डकी प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता अवधिभर हरेक दिन दुई खेल सञ्चालन हुने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ७० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३५ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
त्यस्तै, प्रत्येक दिनको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द म्याच’ लाई नगद २ हजार रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता दुबै जनालाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुने टिमलाई जर्सी, खाजा तथा यातायात सुविधाको समेत व्यवस्था गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।