नवलपुर । नवलपुरको मध्यबिन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रमका सन्दर्भमा पत्रकारहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम बिहीबारदेखि सुरु गरेको छ। बालबालिकाको सिकाइमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सुरु गरिएको ‘हाम्रो खुसी’ पाठ्यक्रमबारे जानकारी दिन यो कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम कावासोती–१५ स्थित थारु कम्युनिटी लजमा सुरु भएको हो। नगरपालिकाले गुणस्तरीय शिक्षा प्रणाली अन्तर्गत सुरु गरेको नवीनतम कार्यक्रमलाई पत्रकारमार्फत समुदायसम्म पुर्याउन र भावनात्मक शिक्षालाई व्यवहारमा उतार्न पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताइएको छ।
शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख पदमराज आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख भीमलाल अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले ‘हाम्रो खुसी’ पाठ्यक्रम शिक्षामा नयाँ आयाम थप्ने र बालबालिकालाई असल नागरिक बनाउने दिशामा कोशेढुंगा सावित हुने बताउनुभयो । उहाँले उक्त पाठ्यक्रम जीवन उपयोगी र व्यवहारिक ज्ञानसँग सम्बन्धित भएकाले यसबारे पत्रकारमार्फत प्रचार–प्रसार गरी सबैमा व्यापक बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा ‘हाम्रो खुसी’ कार्यक्रमकी संयोजक लक्ष्मी पाण्डे भट्टराईले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र हालसम्म प्राप्त प्रगतिबारे जानकारी दिनुभयो।
नवलपुरका पत्रकारहरूको सक्रिय सहभागिता रहेको सो कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत कार्यशाला, प्रस्तुतिकरण र छलफल सत्रमार्फत ‘हाम्रो खुसी’ पाठ्यक्रमबारे विस्तृत जानकारी गराइनेछ ।कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत कृष्णप्रसाद रेग्मीले गर्नुभएको थियो।