कावासोती । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहलको सहकार्यमा, तथा मल्टी स्किल एण्ड इन्भाइरोमेन्ट डेभलपमेन्ट प्रालिको आयोजनामा निस्शुल्क एक महिनाको “जुनियर ब्युटिसियन सीप विकास तालिम कावासोती–१४ सुन्दर बस्तीमा सुरु गरिएको छ । यस तालिममा २० जना दिदीबहिनीहरूको उपस्थिति रहेका छन् ।
तालिमको उद्घाटन गण्डकी प्रदेश रिटर्नी माइग्रेट नेपालका अध्यक्ष नेत्र थनेतले गर्नुभएको थियो। उद्घाटन समारोहमा अध्यक्ष थनेतले सीप आधारित तालिमहरू फर्किएका तथा रोजगारीको अवसर खोजिरहेका युवाहरूका लागि अत्यन्त महत्वपूर्ण हुने बताउँदै भन्नुभयो “देशमै बसेर आत्मनिर्भर बन्न सक्ने वातावरण सिर्जना गर्न यस्ता तालिमहरू अपरिहार्य छन्।
अध्यक्ष थनेतका अनुसार विशेषगरी महिलाहरूले ब्युटिसियनको क्षेत्रमा राम्रो सम्भावना देखिएको छ, जसले स्व–रोजगारको मार्ग खोल्न सक्छ। रिटर्नी माइग्रेट नेपाल यस्ता कार्यक्रमहरूमा निरन्तर सहयोगी भूमिका निर्वाह गर्न प्रतिबद्ध छ ।”
कार्यक्रममा रिटर्नी माइग्रेट नेपाल, नवलपुरका अध्यक्ष रेशम खत्रीको पनि विशेष उपस्थिति रहेको थियो। रिटर्नी माइग्रेट नवलपुरका अध्यक्षले आयोजक संस्थाका अध्यक्ष तथा सञ्चालन संयोजक केशव पन्थीलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो।
एक महिनासम्म सञ्चालन हुने तालिमबाट स्थानीय महिलाहरुले ब्युटिसियन सम्बन्धी सीप आर्जन गर्ने विश्वास आयोजक संस्थाले लिएको छ। सीप विकासमार्फत रोजगारी तथा आत्मनिर्भरता प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।