चोरमारा — मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री सडक खण्डमा आज बिहान करिब ६:०० बजे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
अम्रसा बाट चोरमारा तर्फ जाँदै गरेको लु ९ प ८११६ नम्बरको होण्डा साइन मोटरसाइकल सडक चिप्लो भएका कारण अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकलमा तीन जना सवार थिए।
दुर्घटनामा परी बर्दघाट नगरपालिका–५ का २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएका छन्। उनको बायाँ खुट्टामा चोट लाग्नुका साथै भित्री चोट देखिएकोले थप उपचारको लागि बिहान ६:४० बजे नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ।
मोटरसाइकलमा सवार अर्का २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनको भने घटनास्थलमै गम्भीर चोट लागी उपचारको क्रममा प्रादेशिक अस्पताल डण्डामा बिहान ६:३० बजे मृत्यु पुष्टि भएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।