२०८२ जेष्ठ १२, सोमबार
नयाँ
पछिला अपडेट

संयुक्त राष्ट्रसंघीय मानव अधिकारको उच्च आयुक्तको कार्यालय (OHCHR) मा प्रतिवेदन पेश हुँदै

२०८२ जेष्ठ ११, आईतबार प्रकाशित ( घण्टा अघि) ११९ पाठक संख्या

काठमाडौं – आउँदो जुन २०२५ मा नागरिक समाजको तर्फबाट विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को चौथो चरणको प्रतिवेदन मानव अधिकारको उच्च आयुक्तको कार्यालय (OHCHR) मा पेश गरिने भएको छ।

यस विषयमा अनौपचारिक सेवा केन्द्र (इन्सेक) का सचिवालय प्रतिनिधि सम्झना श्रेष्ठले जानकारी दिँदै, उक्त प्रतिवेदन नागरिक समाजको तर्फबाट प्रस्तुत गरिने अत्यन्त महत्वपूर्ण दस्तावेज भएको बताइन्। उनले यो प्रतिवेदनलाई तहगत रूपमा छलफल गरी, छलफलबाट आएका बुँदाहरू समावेश गरेर मात्र OHCHR मा पेश गरिने जानकारी दिइन्।

UPR 3

यसै सन्दर्भमा, इन्सेकको आयोजनामा जेष्ठ ७, ८ र ९ गते नागरिक समाजका प्रतिनिधिहरू र सांसदहरूबीच प्रतिवेदनमाथि विस्तृत छलफल सम्पन्न भएको थियो।

यूपीआर प्रतिवेदनमा नेपालको सन्दर्भमा बाल अधिकार, महिला अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, नागरिक तथा राजनीतिक अधिकार, र सिमान्तकृत समुदायसँग सम्बन्धित विविध नागरिक सरोकारका विषयहरू समावेश गरिएको छ। चौथो चरणको यो प्रतिवेदन विशेष महत्त्वको हुने भएकाले यसबारे सरोकारवालाहरूबीच पटक–पटक छलफल आवश्यक रहेको आयोजकहरूको भनाइ छ।

UPR Pic

विश्वव्यापी आवधिक समीक्षा प्रक्रिया सन् २००८ देखि सुरु भएको हो, र सन् २०२५ मा यो चौथो चरणमा पुगेको छ। यस प्रक्रियाअन्तर्गत संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूको समीक्षा गरिन्छ। प्रत्येक साढे चार वर्षमा सदस्य राष्ट्रहरूले प्रतिवेदन पेश गर्नु पर्ने हुन्छ।

UPR अन्तर्गत एक वर्षमा तीन वटा सत्र सञ्चालन हुन्छन्, र प्रत्येक सत्रमा १४ राष्ट्रहरूको समीक्षा गरिन्छ। यस अनुसार, एक वर्षमा कुल ४२ राष्ट्रहरूको समीक्षा गरिन्छ। यूपीआर जेनेभाका कार्यक्रम व्यवस्थापक क्ल्यारी मोर्टोले प्रत्येक चरणका प्रतिवेदनहरूको नमुना र प्रकृया सम्बन्धी जानकारी प्रस्तुत गरेको पनि बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस