२०८३ भाद्र १, सोमबार
नयाँ
पछिला अपडेट

चोरमारा पुल भाँचिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

२०८२ बैशाख २९, सोमबार प्रकाशित ( साल अघि) १२४४ पाठक संख्या

चोरमारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारा स्थित गिरुवारी खोलाको पुल सोमबार साँझ भाँचिँदा बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

मध्यविन्दु नगरपालिका–७ मा पर्ने पुल सोमबार साँझ करिब ८ः३० बजे भाँचिएको जिल्ला प्रशासन कार्यालय, नवलपुरले जानकारी दिएको छ। पुल नजिकैको चोरमारा बजारतर्फ बस बिग्रिएर ट्राफिक जाम भएको बेला धेरै सवारी साधन पुलमै अड्किएका कारण अतिरिक्त भार पर्दा पुलको बीच भाग चर्किएर भासिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए।

“पुल केही भासिएको देखिएकाले सवारी आवागमन तत्कालका लागि बन्द गरिएको छ,” प्रजिअ पाण्डेले भने, “सडक विभागलाई जानकारी गराइसकेका छौं, प्राविधिक टोली नआएसम्म सडक सञ्चालन गर्न सकिने अवस्था छैन।”

घटनापछि पुलको बीचमा अड्किएको मालवाहक ट्रक निकालिएको छ । तर पूर्व–पश्चिम राजमार्गको यो प्रमुख खण्ड अवरुद्ध हुँदा यात्रु तथा मालबाहक सवारी साधन बीच बाटोमै रोकिएका छन्।

यसअघि गत पुस २६ गते पनि पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलाको पुल भाँचिँदा केही दिन सवारी आवागमन अवरुद्ध भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस