चोरमारा – गर्मीयाम सुरु भएसँगै गाई तथा भैंसीहरुमा देखिने संक्रामक लम्पी स्किन रोग फैलिन सक्ने सम्भावना देखिएको छ । मध्यविन्दु नगरपालिकाका विभिन्न स्थानमा पशुहरुमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखरामा नमुना परीक्षणको लागि पठाइएको नगरपालिकाले जनाएको छ।
पक्स भाइरस समूहअन्तर्गतको काप्रीपक्स विषाणुबाट सर्ने यो रोग विशेषगरी गाईहरुमा देखिने गर्दछ भने कहिलेकाहीँ भैंसीमा पनि देखिने गरेको छ । रोग लागेका पशुमा घाँटी, पेट, थुन लगायत शरीरका विभिन्न भागमा गिर्खा देखिनुका साथै उच्च ज्वरो, मुखबाट अत्यधिक फिज निकाल्ने, गर्भ तुहिनु, बाझोपन, जोर्नी सुन्निने र दुध उत्पादनमा ठुलो गिरावट आउनेजस्ता लक्षण देखिन्छन्।
रोग सर्ने प्रमुख माध्यमहरुमध्ये लामखुट्टे, झिंगा, भुसुना, किर्नाको टोकाई, संक्रमित पशुको ओसारपसार, र दूषित दानापानी रहेका छन् । नगरपालिकाले रोगको रोकथाम र नियन्त्रणका लागि निम्न उपायहरु अवलम्बन गर्न कृषकहरुलाई आग्रह गरेको छ ।
– रोगी पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्ने
– संक्रमित क्षेत्रबाट पशु ओसारपसार नगर्ने
– सरसफाइमा विशेष ध्यान दिने र किरा नियन्त्रण गर्ने
– फुटेका घाउ सफा गरी एन्टिसेप्टिक मलहम प्रयोग गर्ने
– पशु प्राविधिकको सल्लाह अनुसार उपचार गर्ने
यसै सन्दर्भमा गाई, गोरु, बाच्छा, बाच्छीहरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने कार्य पनि सञ्चालनमा ल्याइएको छ । नगरपालिकाले सम्पूर्ण कृषकलाई आफ्ना पशुधनको सुरक्षाका लागि यथासम्भव सतर्क रहन अनुरोध गरेको छ ।
हेर्नुहोस् सूचना !!!