चोरमारा – आगामी फागुन २२ देखि २४ गतेसम्म नवलपुरको मध्यविन्दु नगरपालिकामा आयोजना हुने कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव – २०८१ को तयारी तीव्र गतिमा अघि बढिरहेको छ । महोत्सवलाई प्रभावकारी बनाउन नगरपालिकाभित्रका सक्रिय युवा क्लबहरूसँग बिहीबार अन्तरक्रिया तथा छलफल गरिएको छ।
नगर खेलकुद विकास समितिका अध्यक्ष मेघराज पाण्डेको अध्यक्षता र सदस्य सचिव हिमाल सिंह ठकुरीको उपस्थितिमा सम्पन्न छलफलमा महोत्सवको उद्देश्य, औचित्य तथा युवा क्लबहरूको भूमिकाबारे चर्चा गरिएको थियो । अध्यक्ष पाण्डेले महोत्सव सफल बनाउन युवाहरूको सक्रिय सहयोग आवश्यक रहेको बताउँदै उनीहरूलाई हातेमालो गर्न आग्रह गरे।
छलफलका क्रममा सहभागी युवाहरूले “महोत्सवका कार्यक्रमहरूले विद्यार्थीको पठनपाठनमा असर पार्ने त होइन ? “समय व्यवस्थापन कसरी गर्ने ? जस्ता जिज्ञासा राखेका थिए । जवाफमा पाण्डे र ठकुरीले “सिकाइ केवल किताबी ज्ञानमा सीमित रहनु हुँदैन, यस्ता कार्यक्रमहरूले व्यवहारिक ज्ञान प्रदान गर्ने भएकाले यसलाई अवसरको रूपमा लिनुपर्छ” भन्दै विद्यार्थीलाई पनि सक्दो सहभागी हुन आग्रह गरे ।
कृषि प्रदर्शनीदेखि सांस्कृतिक प्रस्तुति सम्म
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषि प्रविधि प्रदर्शनी, परम्परागत रैथाने परिकार प्रदर्शनी, अन्तरक्रिया कार्यक्रम, कृषि हाजिरीजवाफ प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुति जस्ता कार्यक्रम समावेश गरिनेछ।
महोत्सवमा स्थानीय किसान, कृषि अनुसन्धानकर्ता, विद्यार्थी, व्यवसायी तथा वित्तीय संस्थाहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ। नवजागरण नमूना माध्यमिक विद्यालय, चोरमाराको रंगशालामा आयोजना हुने महोत्सवका लागि स्टल निर्माण लगायतका तयारी तीव्र गतिमा भइरहेको आयोजक समितिले जनाएको छ ।