चोरमारा । मध्यविन्दु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूको लागि अपाङ्गता स्क्रिनिङ सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ। दुई दिने तालिममा शिक्षकहरूले अपाङ्गता भएका विद्यार्थीहरूको पहिचान गर्ने र उनीहरूलाई आवश्यक सहयोग पुर्याउने तरिका सिकेका छन्।
कार्यक्रमको उद्देश्य कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूको अपाङ्गताको प्रकृति पहिचान गरी उनीहरूको शिक्षामा सहयोग पुर्याउने तयारीमा रहेको शिक्षा अधिकारी कृष्ण प्रसाद रेग्मीले बताए। तालिमको क्रममा शिक्षकहरूले इमिस प्रणालीमा विद्यार्थी र शिक्षक विवरण भर्न र परीक्षा कार्ड तयार गर्ने तरिका पनि सिकेका छन्।
शान्ती आधारभूत विद्यालय, मध्यविन्दु १ की शिक्षिका मिना न्यौपानेले तालिमले अपाङ्गता भएका विद्यार्थीको पहिचान मात्र नभइ, तिनका लागि उपयुक्त समाधान र सहजीकरणका उपायहरू पनि सिक्ने अवसर प्रदान गरेको बताइन्।
कार्यक्रमको समापनमा बोल्दै मध्यविन्दु नगरपालिका स्रोत शिक्षक कलाम्दिन अन्सारीले तालिमका सबै सिकेका कुरा व्यावहारिक जीवनमा प्रयोग नगरेसम्म कार्यक्रमको सफलता सुनिश्चित नहुने बताउँदै सबैलाई सही तरिकामा सिकेका कुराहरू लागू गर्न अनुरोध गरे। साथै, पालिका समस्या समाधानका लागि सधैं तयार रहेको बताएका छन्।
तालिमले शिक्षकहरूलाई अपाङ्गता भएका विद्यार्थीलाई सहजरूपमा पहिचान गर्न र तिनीहरूको सहयोगका लागि प्रभावकारी उपायहरू अपनाउन मद्दत पुर्याउने आशा गरिएको छ।